नेपाल ब्याडमिन्टन संघले जिल्लाहरुलाई पत्रचार गरे पछि

पोखरा स्पोर्टस । नेपाल ब्याडमिन्टन संघले जिल्ला ब्याडमिन्टन संघहरुलाई अद्यावधिक गर्ने भन्दै पत्रचार गरे पछि पुनः संघ भित्र विवाद बढेको छ ।

गत साउन २८ गते संघको अधिवेशनस्थगित भए संगै सुन्य समयमा रहेको ब्याडमिन्टन संघले जिल्लाहरुलाई अद्यावधिक गर्न भन्दै पत्रचार गरेको हो । खेलकुद विकास ऐन अनुसार संघले प्रदेश संघ गठन नगरेको भन्दै प्रदेश खेलकुद विकास समितिहरुले मान्यता नदिए पछि अधिवेशन स्थगित हुन पुगेको थियो ।

संघले अधिवेशन गर्नका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) संग तिन महिनाको समय माग गरेको भए पनि राखेप समय थप्ने बारे मौन रहेको छ । १९ औं एसियाली खेलकुदका लागि राखेप उच्चस्तरका पदाधिकारी संगै सातै प्रदेशका सदस्य सचिवहरु हाङझाउ पुगेको बेला संघले जिल्लाहरुलाई अद्यावधिकका लागि पत्रचार गरे पछि वर्तमान नेतृत्व झनै शंकाको घेरामा परेको छ ।

नेपाल ब्याडमिन्टन संघ राखेपमा २०७८ साल सम्म नविकरण रहेको छ । २–२ वर्ष सम्म कुनै साधारण सभा र नविकरण समेत नगरेको संघ आफैमा अवैधानिक रहेको ब्याडमिन्टन संघका एक सदस्यले बताए । उनले भने–“संघ आफै दुई वर्ष सम्म नविकरण छैन । अधिवेशन स्थगित भए पछि यो सुन्य समय हो । राखेपले वर्तमान नेतृत्वलाई के गर्ने भन्ने बारे टुङ्गो समेत लगाएको छैन । आफै अवैध भएको संघले जिल्लाहरुलाई पत्रचार गर्नु हास्यास्पद हो ।”

वर्तमान ब्याडमिन्टन संघलाई राखेपले समेत म्याद नथपेको अवस्थामा अधिकार विहिन संघले संस्थाको लेटरप्याड समेत दुरपयोग गरी यसरी जिल्ला संघहरुलाई पत्रचार गर्नु भनेको तदर्थ समितिले खेलकुद विकास ऐनको समेत धज्जी उडाएको ति सदस्यले बताए । उनले भने–“यूवा तथा खेलकुद मन्त्रालयले समेत यो विषयमा गम्भिर रुपले हेरेको छ । राखेपले म्याद थपेको छैन । संघका पूर्व पदाधिकारीहरुको समेत यो समितिले विश्वास गुमाएको छ । यस्तो अवस्थामा वर्तमान नेतृत्व सदस्य सचिव जस्तै गरि जिल्ला संघहरुलाई निर्देशन दिनु कानुनको समेत धज्जी उडाउनु हो ।”

राखेप र प्रदेशका सदस्य सचिवसहित विदेश रहेको बेला संघले जिल्लाहरुलाई पत्रचार गरेर पुनः सक्रिय हुन खोजेको भए पनि वर्तमान केन्द्रिय नेतृत्वलाई कुनै पनि जिल्ला संघहरुले पत्याउनेस्थिती नरहेको एक सदस्यले बताए । “वर्तमान तदर्थ समितिले आफ्नो सामर्थ्यता गुमाइसकेको छ । अधिवेशनका लागि ३–३ महिना सुतेर अन्तिम समयमा अधिवेशन गरी नेतृत्व हत्याउन खोज्दाको दुष्परिणामले संघले बदनामी कमाएको छ”, उनले भने–“यसले नेपाली ब्याडमिन्टन खेलको भविष्य माथि नै खेलबाड भएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close