
पोखरा स्पोर्टस । महिला शसक्तिकरण संगै खेलकुद अभियानमा जुटेको उमेन्स क्लव अफ पोखराले १९ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई ट्रयाक सुट प्रदान गरेको छ ।
पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच उक्त संस्थाले खेलाडीहरुको हौसला बढाउन ट्रयाकसुट प्रदान गरेको हो । कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष सारिका गुरुङले महिला खेलाडीहरुलाई आत्मबल बढाउन आफ्नो संस्थाले सानो उपहार दिएको बताइन् ।
३५ देखि ४० वर्ष उमेर समुहका विच कार्यरत संस्थाले उनीहरुलाई विभिन्न कार्यक्रमका माध्यमबाट शसक्तिकरण गर्दै अघि बढ्ने योजना बनाएको बताउँदै सस्थापक अध्यक्ष गुरुङले त्यो मध्य एक खेलकुद रहेको बताइन् । “हामी सामाजिक संगै खेलकुद अभियानमा छौं । महिलाहरुको यो उमेर भनेको निकै ‘क्रिटिकल’ समय पनि हो । स्वास्थ्यका लागि पनि खेलकुद अपरिहार्य रहेकोले उनीहरुलाई खेलकुदमा अघि बढाउने हाम्रो योजना छ”, उनले भनिन ।
१९ औं एसियाली खेलकुदको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको ह्याण्डबल टोली करिव एक महिना देखि पोखरामा छ । उनीहरुलाई संस्थाकी संस्थापक अध्यक्ष द्वय सारिका र शान्ती गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, लेखा प्रमुख डिवी नेपाली, उप निर्देशक बलराम लामा, जिल्ला खेलकुदका कार्यालय प्रमुख लामा सुन बहादुर लामालगायतले ट्रयाकसुट वितरण गरेका थिए ।
एसियाडको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् । त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।
चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चिन संग खेल्नेछ । त्यसै गरि जापान, हङकङ र भारत संग नेपालले १९ औं एसियाली खेलकुदमा सामना गर्नेछ ।