
पोखरा स्पोर्टस । प्याराग्लाइडिङलाई सुरक्षित, व्यवस्थित र विश्वाशिलो बनाउन प्याराग्लाइडिङ पाइलट, व्यवसायी लगायतलाई तालिम प्रदान गरिएको छ ।
नेपाली प्याराग्लाइडिङ व्यवसायीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले नेपाल नागरिक उड्ययन प्राधिकरणको सहयोगमा उक्त तालिम प्रदान गरेको हो । पोखरामा दुई दिन सम्म सञ्चालन भएको तालिममा सहभागिहरुलाई सुरक्षा उपकरणहरुको प्रयोगको ज्ञान संगै इएर ट्राफिक म्यानेजमेन्ट लगायतका विषयमा प्रशिक्षण दिइएको नाका अध्यक्ष सुनिल बहादुर भट्टाराइले जनाएका छन् ।

अध्यक्ष भट्टराईले दैनिक हुने उडानहरुलाई नाले व्यवस्थित बनाउँदै लगेको बताउँदै भने–“पोखराको प्याराग्लाइडिङ उडानलाई सुरक्षित बनाउन ना ले आवश्यक उपकरण सहित निश्चित स्थानबाट उडान र अवतरणलाई जोड दिएका छौं । विगतमा जस्तो पाइलटहरुले आफ्नो मनखुसी गर्न पाउँदैनन् । उनीहरु आफ्नो उडानमा निश्चित घेरामा रहेर उडान भर्नुपर्ने भएकोले प्याराग्लाइडिङ सुरक्षित भएको छ । त्यसको सम्पूर्ण अनुगमन नाको प्राविधिक टिमले गरेको छ ।”
पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए संगै पोखराको प्याराग्लाइडिङ अनिश्चित बनेको अवस्थामा पोखरेली पर्यटन व्यवसायीहरुको सहयोगमा ना ले प्याराग्लाईडिङ जोगाउन ठूलो संघर्ष गर्नु परेको अध्यक्ष भट्टराइले बताए । साढे दुई दशक देखि अनवरत रहेको पोखराको प्याराग्लाइडिङको भविष्य अझै सुनिस्चित भएको अध्यक्ष भट्टराइले बताउँदै भने-“हामीले समय–समयमा पाइलट र व्यवसायीहरुलाई संगै वा छुट्टा छुट्टै राखेर तालिम संगै अन्तक्रिया गर्दै आएका छौं । यसले पनि प्याराग्लाइडिङ जोगाउन सबैको सहयोग उत्तिकै महतवपूर्ण छ भन्ने कुरालाई स्थापित गरेको छ ।”
दुई दिने प्रशिक्षणमा प्राधिकरणका एटिएम विभागका प्रमुख देवेन्द्र प्रसाद श्रेष्ठ, प्रवन्धक मुकेश दाहाल, एभियसनका सिनियर क्याप्टेन विनोद पुरी लगायतले प्रशिक्षण दिएका थिए ।
नागरिक उड्ययन प्राधिकरणका एटिएम विभाग प्रुमख सिताराम भण्डारीको उपस्थितीमा भएको तालिममा करिव २५० जना पाइलट, ६० जना व्यवसायी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
नाका उपाध्यक्ष अनिल केसीको संयोजक्त्वमा भएको समापन कार्यक्रममा महासचिव खेमराज आचार्यले समेत आफ्ना भनाई राखेका थिए । उक्त कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको नाले जनाएको छ ।
