
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदका लागि फेन्सिङ खेलाडीको छनौट सम्पन्न भएको छ ।
नेपाल फेन्सिङ संघको आयोजनामा भएको छनौट प्रतियोगिता महिलातर्फ ३ र पुरुषतर्फ ३ जना गरी ६ जना खेलाडी छनौट भएका हुन् ।
संघका महासचिव सुजनलाल श्रेष्ठका अनुसार छनौट हुन सफल महिला खेलाडीमा गोमा आचार्य (बागमति प्रदेश), अनिता अधिकारी (सशस्त्र प्रहरी बल) र मंन्दिरा थापा (सशस्त्र प्रहरी बल) रहेका छन् । छनौट भएका महिला खेलाडीहरु फोयलतर्फको प्रतिस्पर्धा गर्नेछन् ।
त्यसै गरी पुरुषतर्फ उपेन्द्र शाही (नेपाल सेना), राजेन्द्र गजुरेल (सशस्त्र प्रहरी बल) र पायष योञ्जन (बागमति प्रदेश) रहेका छन् । उनीहरुले साबर इभेन्टतर्फ प्रतिस्पर्धा गर्ने महासचिव श्रेष्ठले जनाए ।
१९ औं एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टुबर ८ तारीख सम्म मित्रराष्ट्र चीनको होङजावमा हुँदैछ ।

