परिषदका नवनियुक्त सदस्य सचिव शर्माले गरे पद बहाली

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले सोमबार पद बहाली गरेका छन् । शर्मालाई गण्डकी प्रदेश सरकारको मन्त्री परिषदको गत बैशाख २८ गतेको निर्णयले उनलाई रिक्त सदस्य सचिव पदमा नियुक्त गरेको हो । सदस्य सचिव शर्मालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले पद बहाली गराएका थिए । 

प्रदेश सरकारले खेलकुद विकास ऐन अनुसार उनलाई आगामी चार वर्षका लागि परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । नवनियुक्त सदस्य सचिव शर्मा भलिबलका केन्द्रिय सचिव समेत हुन् ।

सो अवसरमा बोल्दै नवनियुक्त सदस्य सचिव शर्माले आफूले संधै अनुशासनमा रही खेलकुद विकासलाई अघि बढाउने बताए । उनले भने–“प्रदेश सरकारले मलाई जुन जिम्मेवारी दिएको छ त्यसका लागि म आभार व्यक्त गर्न चाहन्छु । आफू बाट नै खेलकुदले दिएको अनुशासनलाई मार्गदर्शनको रुपमा अघि बढाउने छु ।” आफ्नो कार्यकालमा कुनै गल्ती नगर्ने प्रतिवद्धता जनाउँदै उनले खेलकुद र परिषदको गरिमालाई बचाउन सके परिषदले ठूलो फड्को मार्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले सबै मिलेर नै खेलकुदको विकासलाई अघि बढाउन सकिने उल्लेख गरे । लामो समय पछि परिषदले सदस्य सचिव पाउनु सुखद रहेको बताउँदै उनले खेलकुदमा रहेका चुनौतीहरुलाई समाप्त गर्न सबैको एकता आवश्यक रहेको बताए ।

मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तथा यस अघि सदस्य सचिवको रुपमा कार्यरत पौडेलले नवनियुक्त सदस्य सचिवलाई पदबहाली गराउँदै खेलकुदमा संघियताको मर्म अझै प्राप्त नरहेको बताउँदै प्रदेश खेलकुदमा रहेका चुनौतीहरु चिर्न सबैको सहयोग र सहकार्य रहेको बताए ।

सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, तारामायाँ थापा मगर लगायत परिषदका सदस्यहरुले नवनियुक्त सदस्य सचिव शर्मालाई स्वागत गरेका थिए ।

यस अघि परिषदको सदस्य सचिवको रुपमा तेज बहादुर गुरुङ कार्यरत रहेका थिए । उमेर हदका कारण गत २०७९ असोज २५ गते उनले अवकाश पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close