त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी बने बिजेता

पोखरा स्पोर्टस । नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार बिजेता भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी बिजेता भएका हुन् ।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए । आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उप मेयर प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको मुख्य मन्त्री लामाले नै उद्घाटन गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनैपनि क्षेत्रको पर्यटकीय स्थलको प्रवर्द्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त आगामी दिनमा पनि प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै महासंघले खप्तडमा बृहत अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताए । उनले त्रिशूली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिदै अझ बृहत स्वरुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो । दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close