
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको रिक्त सदस्य सचिव नियुक्ती प्रक्रिया रोक्न नेपाल खेलकुद महासंघले चेतावनी दिएको छ ।
महासंघले सोमबार एक विज्ञप्ती जारी गर्दै नियुक्ती प्रक्रिया रोक्न चेतावनी दिएको हो । गण्डकी प्रदेश सरकारले रिक्त सदस्य सचिव पदका लागि गत पुस ६ गतेको मन्त्री परिषद निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले एक साताको म्याद राखेर दरखास्त आह्वान समेत गरिसकेको छ । दरखास्त आह्वानको म्याद मंगलबार सकिंदैछ ।

महासंघले जारी गरेको विज्ञप्तीमा काम चलाउ सरकारले नियुक्ती प्रक्रिया जस्तो कार्य गर्न नपाउने र यस्तो निर्णयले विधीको शासनको धज्जी उडाएको उल्लेख गरिएको छ । अध्यक्ष विष्णु पुन द्वारा हस्ताक्षरित विज्ञप्तीमा नियुक्ती प्रक्रिया तत्काल रोक्न आग्रह गर्दै अपिलको वेवास्ता गरे आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको थियो ।
प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ ।
सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन् । पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् ।
परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको, स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ ।
