
पोखरा स्पोर्टस । राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एसोसियसन नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले आफ्नो ‘१४ औं नेसनल खेलकुद महोत्सव’को तयारी सुरु गरेको छ ।
“एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुद सहितको शिक्षा” भन्ने मुल उद्धेश्यका साथ हुने खेलकुद महोत्सवमा यहि मंसिर २५ गते देखि २८ गते सम्म हुने भएको हो । यहि मंसिर २५ देखि २८ गते सम्म औपचारिक रुपमा खेलकुद महोत्सव सुरु हुने भए पछि मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने एन प्याब्नि कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिएका छन् ।
एन प्याब्सन कास्कीले आफ्नो ‘१४ औं नेसनल खेलकुद महोत्सव’ अन्तर्गत पहिलो पटक सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा ५ किमि सडक दौड संगै क्रिकेटलाई समावेश गरेको छ भने प्रतियोगिता अन्तर्गत छात्र–छात्रा जुनियर कक्षा १–७ सम्म एथलेटिक्स ट्रयाक एण्ड फिल्डका प्रतिस्पर्धा, ह्याण्डबल, ब्याडमिन्टन र टेबुल टेनिसका खेलहरु हुनेछन् भने सिनियर कक्षा १–१० सम्म छात्र–छात्रा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड, भलिबल, फुटबल, ब्याडमिन्टन, टेबुल टेनिस, बास्केटबलका प्रतिस्पर्धाहरु हुनेछन् ।
त्यसै गरी कक्षा ११–१२ अन्तर्गत छात्र फुटसल र बास्केटबल छात्रातर्फ बास्केटबल हुने भएको छ ।
यसै बिच एन प्याब्सन कास्कीले आफ्नो १४ औं खेलकुद महोत्सवमा च्याम्पियन टिमलाई प्रदान गरिने ट्रफीको अनावरण गरेको छ । उक्त ट्रफीको शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले अनावरण गरे । आधा किलो चाँदीको प्रयोग गरी हस्तकलाबाट निर्मित ट्रफीका लागि १ लाख २५ हजार खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
शनिबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीमा निहीत प्रतिभा प्रस्फुटनका लागि नियमित कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट आयोजना गरिएको बताए । यसबाट बालबालिकामा अन्तरनिहीत प्रतिभा खारिने मौका पाएको र विद्यार्थीको सवाङ्र्गीण विकासमा सहयोग मिलेको उनले दाबी गरे ।
२०५५ सालमा स्थापित एनप्याब्सन कास्कीमा हाल ४९ विद्यालय आबद्ध छन् । तीमध्ये ४६ विद्यालयका करिब ८ हजार ५ सय जना विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा भाग लिने छन् । तीमध्ये ४ हजार ६ सय छात्र र ३ हजार ९ सय जना छात्रा मैदान उत्रिने छन् । तहगततर्फ १ हजार ५ सय ५० छात्र र १ हजार ५ सय ५० जना छात्रा एवं सिनियरतर्फ ३ हजार २ सय छात्र र २ हजार सय ६ सय जना छात्रा हुन् । कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्रले प्रतिस्पर्धा गर्ने छन् । सहभागीमध्ये ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण, २ सय ५१ रजत र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । औपचारिक उद्घाटन २५ गते पोखरा रंगशालामा संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने छन् । त्यसअगावै पोखराका विभिन्न खेल मैदानमा २१ मंसिरदेखि नै विभिन्न खेलहरु सुरु हुनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न हेमन्त अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । प्रचार संयोजका प्रेमराज अधिकारी, मार्चपासमा कमलबहादुर मल्ल, समूह खेलमा फुटबलतर्फ अर्जुनप्रसाद पाण्डे, बास्केटबलमा वेदबहादुर श्रेष्ठ, टेबलटेनिसमा शिवराज पौडेल, भलिबल प्रकाशराज वाग्ले, ब्याडमिन्टन ज्ञानेन्द्रबहादुर थापा, क्रिकेट रमेशराज पौडेल, ह्याण्डबलमा अर्जुनप्रसाद अधिकरी, फुटसलमा विष्णुप्रसाद पौडेल, एथलेटिक्समा केशवशरण पौडेल संयोजक छन् ।
यस्तै, स्वास्थ्य उपचार व्यवस्थापनमा हरिराज अधिकारी, मञ्च सजावट साउण्ड सिस्टममा दीपु भारी, न्यायिक छानबिन तथा निर्णायाक उपसमिति संयोजकमा हेमन्त अधिकारी तोकिएका छन् । साथै, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा मनकाजी गुरुङ, शान्तिसुरक्षा व्यवस्थापनमा युवक लामिछाने, सचिवालयमा प्रेमराज अधिकारी, खाना, खाजा, पानी तथा अतिथि व्यवस्थापनमा राजु केसी र खेलकुद समन्वय तथा व्यवस्थापनमा राजु कायस्थ संयोजक छन् ।
यसै बिच एन प्याब्सन कास्कीले आफ्नो १४ औं खेलकुद महोत्सवमा च्याम्पियन टिमलाई प्रदान गरिने ट्रफीको अनावरण गरेको छ । उक्त ट्रफीको शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले अनावरण गरे । आधा किलो चाँदीको प्रयोग गरी हस्तकलाबाट निर्मित ट्रफीका लागि १ लाख २५ हजार खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।