
पोखरा, हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी हात पारेका हुन ।
उपाधी संगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर समेत रहेका थापा २०५६ देखी २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोश्रो स्थान हासिल गरेका थिएभने हाल इलामको गजुरमुखी चेस क्लवबाट चेस खेल्दै आएका छन ।
त्यसैगरी प्रतियोगितामा ५ अंक सहित महेश्वर अधिकारीले दोश्रो स्थान सहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारे भने बुद्धिराज शर्माले ४.५ अंक सहित तेश्रो स्थान हासिल गर्दै १० हजार प्राप्त गरे । अनिल कोइरालाले ४ अंक सहित चौथो स्थान हासिल गर्दै नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेभने विनोद नाल्मीले ४ अंक सहित पांचौ स्थान हासिल गर्दै नगद २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी दशौ स्थान सम्म पर्न सफल सागर साइ, विश्व पराजुली, युवाराज भण्डारी, राम बहादुर क्षेत्री, विरबहादुर परियारले जनही १ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेताहरुलाई पुरस्कार वितरण गर्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले युनाईटेड क्लवले आफुले लिएको उद्देश्य अनुरुप खेल क्षेत्रलाई समेत समेटेर दशौ संस्करणको पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको र यो प्रतियोगिताले नया खेलाडीको उत्पादन संगै कास्की जिल्ला हुदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा टेवा पुग्ने वताए ।
त्यसैगरी कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्र प्रधानले युनाईटेड क्लवले सामाजिक काम संगै खेलकुद क्षेत्रलाई समेत समेटेर बुद्धिचाल प्रतियोगिताको आयोजना गरेर बुद्धिचाल खेलको प्रवद्र्धन संगै राष्ट्रिय स्तरको खेलाडी एकै ठाउमा भेला हुने वतावरण वनाएकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा युनाईटेड क्लव संग सहकार्य गरी पोखरामा अन्तराष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको समेत आयोजना गरिने वताए ।
प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाटले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
