महासचिव श्रेष्ठद्वारा यूवा महिला हक्की खेलाडीहरुलाई खेल पोशाक प्रदान

पोखरा स्पोर्टस । पोखरामा प्रशिक्षणरत यूवा महिला खेलाडीहरुलाई नेपाल हक्की संघकी महासचिब सुवर्ण श्रेष्ठले खेल पोशाक प्रदान गरेकी छन् । पोखरा रंगशालामा आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई खेल पोशाक हस्तान्तरण गरेकी हुन् ।

उनले खेलाडीहरुको उत्साहवर्धन गर्दै हक्की खेलको विकासका लागि संघ निरन्तर क्रियाशील रहेको बताइन्। उनले भनिन्, ‘महिला हक्की संगै नेपाली हक्की खेलको स्तर वृद्धि गर्न हामी प्रशिक्षण र आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छौं । आजको पोशाक वितरण पनि त्यसैको एक अंश हो।’

गण्डकीको टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको उल्लेख गर्दै राखेपकी कार्यकारी सदस्य समेत रहेकी श्रेष्ठले बैशाखबाट प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु सञ्चालन हुने भएकोले त्यसका लागि तयार रहन आग्रह गरिन् । उत्कृष्ट प्रदर्शनले नै अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरुको सहभागिता शुनिस्चित हुने भएकोले आफ्नो खेल क्षमता संगै खेलको अनुशासनमा लगनशिल भए प्रशिक्षण गर्न उनले भनिन्–‘अहिले नेपालको प्रदर्शनले अन्तर्राष्ट्रिय हक्की संघ र एसियाली हक्की संघले प्रशंसा गरेका छन् । त्यो खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा गरेको उत्कृष्ट प्रदर्शनले सम्भव भएको हो । हामी त्यसको निरन्तरताका लागि प्रयासरत छौं ।’

कार्यक्रममा प्रशिक्षक हित गुरूङ, पोखरा महानगर खेलकुदका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदार, मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीका अध्यक्ष गिरमान गुरूङलगायतको सहभागिता रहेको थियो । प्रशिक्षक गुरूङले प्रशिक्षणमा सहभागी खेलाडीहरुको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले पोखरामा हक्कीको खेल मैदान नहुँदा पटक पटक प्रशिक्षणमा समस्या आएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close