
पोखरा स्पोर्टस । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।
म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्रको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उनलाई बधाई दिंदै राष्ट्रपति पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै भने–‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरुले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन् ।’
राष्ट्रपति पौडेलले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा खेलको महत्व रहेको बताउँदै भनेका छन्–‘खेल क्षेत्रको विकासमा सरकार, खेलसँग सम्बन्धित संस्था र निकायले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्न क्रियाशील हुने विश्वास लिएको छु ।’
बझाङको बाघ भनेर उपनाम पाएका नेपाली एमएमए फाइटर रविन्द्रले आफ्नो खेल कौशल, सामथ्र्य, शक्ति र खेलप्रतिको अगाध समर्पणले यो उपाधि जित्न सफल हुनु नेपालीहरूको लागि गौरवको विषय भएको राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले डाँटको सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।
नेपालका एमएमएन फाइटर रविन्द्र सोमबार काठमाडौं आइपुगेका थिए । उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका थिए । तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट जितेका थिए ।
