
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा गण्डकीमा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सुरु भएको छ ।

चार दिने प्रशिक्षणको आज एक कार्यक्रमका विच शुभारम्भ गरिएको हो । गण्डकीमा लामो अन्तराल पछि डि लाइसेन्स प्रशिक्षणको आयोजना भएको हो । उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले उद्घाटन गरेका छन् ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, सिनियर फुटबल प्रशिक्षक शम्भु कार्की लगायतको सहभागिता रहेको थियो ।
उक्त प्रशिक्षणमा गण्डकी प्रदेशका २७ जना प्रशिक्षकहरुको सहभागिता रहेको अध्यक्ष गुरुङले जनाएका छन् । उनीहरुलाई सञ्जित सिंह, प्रशिक्षक शम्भु कार्की लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
