
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले एनओसी विभिन्न नौ विद्यामा अवार्ड दिने घोषणा गरे संगै अवार्ड प्रदानका लागि तयारी सुरु गरेको छ ।
एनओसीका अध्यक्ष तथा संघिय सांसद जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले अवार्ड प्रदानका लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन समेत गरेको हो । जुन २३ ओलम्पिक डे को अवसरमा एनओसी पहिलो पटक प्रदान गर्न लागेको उक्त अवार्ड छनौट कमिटिको बैठकमा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठको सहभागिता रहेको थियो ।

अवार्ड कमिटीका समन्वयकर्तामा गोपालसुन्दरलाल कक्षपति रहेका छन् । त्यस अवसरमा अवार्ड निर्णय कमिटीको पहिलो बैठक बसेको थियो । कमिटिको सदस्यमा विनयराज पाण्डे, पद्मकृष्ण श्रेष्ठ, गोपाल चित्रकार, गोपाल वस्नेत, महेन्द्र विष्ट, देवेन्द्र सुवेदी, किरण वज्राचार्य, गीता शाह, रिता विष्ट, दीपक विष्ट र अश्रत्य कार्की चौधरी रहेका छन् ।
गठित कमिटिमा भने एनओसीका पदाधिकारी र कर्मचारीलाई समेटिएको छैन । कमिटिमा पूर्व खेलाडी र प्रशिक्षक, पत्रकार समावेस गरिएको एनओसीले जनाएको छ । यस अघि एनओसीको १२ औं साधारण सभाका अवसरमा एनओसी अवार्ड बाट सम्मान निर्णय गरेको थियो । एनओसीले विभिन्न नौ फरक–फरक विधामा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।
