दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न मन्त्री थापाको निर्देशन

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषदको दशौं पूर्ण बैठक पोखरामा मंगलबार सम्पन्न भएको छ ।

बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आसन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि आवश्यक अपुग रकम प्रदेश सरकार संग आग्रह गर्ने लगायतका निर्णय गरेको छ भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकको अध्यक्षता गरेका गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न निर्देशन दिए । उनले विगतको शाखलाई कायम गर्न नवौं राष्ट्रियमा पदक बिजेता खेलाडीहरुको खोजी गर्न र कार्ययोजनासहित तयारी थाल्न परिषदका सदस्यहरुलाई आग्रह गरे । उनले भने–“दशौं राष्ट्रिय खेलकुदमा हाम्रो शाखलाई जोगाउनु छ । समिति, उपसमिति बनाएर कार्ययोजनासहित अघि बढ्नुहोस । मन्त्रालय सहयोग गर्न तयार छ ।” वैदेशिक रोजगारीमा रहेका खेलाडीहरुलाई समेत बोलाएर खेल संघहरु परिचालन गरी प्रशिक्षण कार्यलाई अघि बढाउनु पर्ने औंल्याए ।

दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदबाट पत्र प्राप्त हुनासाथ तयारीमा हुने अपुग रकम सम्वन्धमा प्रदेश सरकार मुख्यमन्त्रीसहित उच्चस्तरीय बैठक बोलाउने प्रतिवद्धता जनाउँदै गोरखामा आयोजनाको तयारी सुरू गरिएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि समेत अघि बढ्न उनले निर्देशन दिए । उनले भने–“खेलाडी उत्पादनको मुख्य स्रोत भनेकै राष्ट्रपति रनिङ शिल्ड हो । हामीले यो प्रातियोगिता सम्पन्न गर्नु पर्छ ।” त्यसै गरी मन्त्री थापाले पोखरा रंगशालामा विद्यालयका संस्थाहरुलाई प्रतियोगिता सञ्चालनका लागि सहज वातावरण बनाउनु पर्ने कुरामा समेत जोड दिए ।

मन्त्री थापाले सहाशिक खेलकुदमा रहेको प्याराग्लाइडिङ प्रतियोगितालाई दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न संघिय यूवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरिने बताए ।

यस्तै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सबैका लागि मुख्य चासोको विषय रहेको जनाउँदै तयारीमा तिव्रता दिनु पर्ने बताए ।

अर्ध वार्षिक समिक्षासहित सम्पन्न बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले प्रदेशलाई खेलकुदमय बनाउन परिषद योजनाबद्ध रुपमा अघि बढेको बताउँदै दशौं राष्ट्रिय खेलकुद संगै प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी अहिलेको प्रमुख विषय बनाएर परिषद अघि बढ्ने उल्लेख गरे ।

बैठकमा कार्यकारी सदस्य दिल बहादुर गुरूङ, ऋषीराम गौतम, तारामाया थापा मगर, कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा अधिकृत निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत्र २३ देखि ३० गते सम्म कर्णाली प्रदेशको सुर्खेत हुने छ । प्रतियोगितामा विभिन्न ३६ खेल हुनेछन् । त्यसै गरी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुनको तेस्रो साता गोरखामा तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close