
पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषदमा नेतृत्व विहिनका कारण खेलकुद गतिविधी अवरुद्ध भएको भन्दै ध्यनाकर्षण भएको जनाएको छ ।
संघले एक प्रेश विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएको हो । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“ खेलकुदको संस्थागत विकासलाई मध्यनजर राख्दै विवेकपूर्ण निर्णय गर्नुपर्नेमा लहडको भरमा परिषद्को कार्यकारी प्रमुख सदस्य सचिवको बर्खास्ती तथा नयाँ नियुक्ति गर्नुले परिषद्का सम्पूर्ण कार्यहरु अवरुद्ध हुन गई खेलकुदका सम्पूर्ण क्रियाकलापहरु ठप्प हुन पुगेको छ ।”
संघले विगत दुई महिना देखि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा नेतृत्व विहिन हुुनुले परिषदका दैनिक कार्यहरुका साथै विकास निर्माण कार्यहरु अवरुद्ध भएको मात्रै नभई राष्ट्रिय प्रशिक्षणहरु प्रभावित हुन पुगेको जनाइएको छ । परिषदमा कार्यरत प्रशिक्षक तथा कर्मचारीहरुले २ महिना देखि पारिश्रमिक प्राप्त नगरेको तथा खेलाडीहरुले प्राप्त पुरस्कार तथा भत्ताहरु रोकिएको जनाउँदै अवकास प्राप्त कर्मचारीहरुको सुविधा समयमानै प्राप्त गर्न नसक्दा मानसिक दवाव समेत पर्न गएको जनाइएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सुखद परिणाम खोज्ने नेतृत्वहरु खेल संस्थालाई बन्दि बनाई रमिते बनिरहने अवस्थाले कसरी हाम्रा खेलाडीहरुले उचित परिणाम दिन नसक्ने जनाउँदै विज्ञप्तीमा भनिएको छ–“यसै बर्ष चिनमा आयोजना हुने एशियाली खेलकुदको तयारी, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, १४ औं दक्षिण एशियाली खेलकुदको तयारी प्रशिक्षण गर्नुपर्नेमा कार्यकारी प्रमुखको अनुपश्थितीमा सम्पूर्ण यी कार्यहरु प्रभावित हुन पुगेको छ ।”
विज्ञप्तीमा संघले राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहेका प्रधानमन्त्री, युवा तथा खेलकुद मन्त्री समक्ष यस्तो बिषम परिस्थितीलाई छिटो भन्दा छिटो उचित निकास प्रदान गर्न जोडदार माग गर्दै सर्वोच्च अदालतलाई समेत खेलकुद संस्थाको विवादहरुलाई अग्राधिकार प्रदान गर्दै छिटो भन्दा छिटो निकास दिन अनुरोध गरिएको छ ।


