
पोखरा स्पोर्टस । कास्की माछापुच्छ्रेस्थित घलेलमा गुरुङ जातीहरुको पर्व ल्होत्सारमा वौद्ध सृजना यूवा क्लवद्वारा आयोजित “२३ औं घलेल गाउँस्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता”को उपाधि माछापुच्छ्रे वडा नं २ को सिल्दु देउराली यूवा क्लव खादरजुङ्गले जितेको छ ।

सिल्दुले आफ्नै वडाको ग्रिन फोर्स यूथ क्लबलाई २–१ को सेटमा पराजित गरको हो । वेष्ट अफ थ्रिका आधारमा भएको फाइनलमा पहिलो सेट सिल्दुले २५–२१ ले जिते पनि दोश्रो सेट २२–२५ ले गुमाउन पुग्यो । तर अन्तिम सेटमा खेलमा फर्किदै सिल्दुले २७–२५ को कठिन जित निकाल्दै उपाधि सहित नगद ४० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेत ग्रिन फोर्स नगद २५ हजार हात पार्न सफल भयो ।
यता पुरुष तर्फ नै माछापुच्छ्रे स्थित लुम्रेको निश्चल झर्ना यूवा क्लवले तेश्रो स्थान हात पार्दै नगद १५ हजार प्राप्त गरेको छ । निश्चलले आयोजक क्लवलाई २–१ सेटमा पराजित गरेको थियो । प्रतियोगितामा ग्रिन फोर्सका दितेक तामाङ वेष्ट स्पाइकर, वौद्ध यूवा क्लवका समिर गुरुङ वेष्ट लिव्रो, सोही क्लवका रविन गुरुङ वेष्ट व्लकर, सिल्दु यूवा क्लवका राकेश गुरुङ वेष्ट लिफ्टर तथा सोही क्लवका सन्तोष पौडेल वेष्ट प्लेयर घोषित भए ।
त्यस्तै महिलातर्फ शान्ता भलिवल केन्द्रले उपाधि सहित नगद १५ हजार हात पारेको छ । फाइनलमा शान्ता भलिवल केन्द्रले खादर जुङ यूवा क्लवलाई ३–१ को सेटमा पराजित गरको थियो । उपविजेता टिमले नगद ८ हजार प्राप्त गरको आयोजक क्लवका अध्यक्ष राम गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । महिलातर्फ सुनिता बस्नेत उत्कृष्ट खेलाडी भइन ।
कार्यक्रम अन्तर्गत परम्परागत घोडा दौडमा प्रथम हुने अन्नपूर्णका सुमित गुरुङलाई नगद २० हजार र माछापुच्छ्रे ९ का बल बहादुर खडकाले नगद १० हजारका साथमा ट्रफी र मेडल प्राप्त गरेका छन् ।
गत पुष १५ गतेबाट सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले मेला महोत्सवमा हुने खेलकुद कार्यक्रमले खेलकुदको विकासमा टेवा दिएको बताए ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई सदस्य सचिव गुरुङ, माछापुच्छ्रे गाउँपालिका नेपाली काँग्रेसका उपसभापति मिम बहादुर गुरुङ, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बाँनिया, जिल्ला खेलकुदका कार्यसमिती सदस्यद्वय तिलक क्षेत्री र रोम बहादुर गुरुङले नगद, कप, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष तर्फ ३२ र महिलातर्फ ७ गरी कुल ३९ टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।
