
पोखरा स्पोर्टस । पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता पोखरामा सुरु भएको छ ।
उक्त प्रतियोगिताको एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिलेको खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए ।
गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महत्व दिंदै आगामी वर्षका लागि समेत आवश्यक बजेट विनियोजन गरिसकेको जनाउँदै मन्त्री थापाले भने–“अहिले खेलकुदमा सम्भावना समेत बढ्दै गएको छ । नेपाली खेलाडीहरुले पनि विस्तारै खेलकुदको माध्यमबाट आफ्नो व्यवसायिकता लाई अघि बढाएका छन् ।’ केन्पोकाई खेलको समेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचार सम्वन्ध स्थापित संगै अनुशासन कायम गर्न समेत खेलकुदको भूमिका उत्तिकै प्रभावकारी रहेको उनको भनाई थियो ।
खेलाडीहरुको सहयोगका लागि प्रदेश सरकार साथ र सहयोग दिन तयार रहेको बताउँदै उनले खेलकुदलाई जित र हार भन्दा पनि अनुशासित नागरिक उत्पादनमा समेत खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण रहेको मन्त्री थापाले बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले खेलकुदको बजेट सोच अनुरुप नआउँदा यसको विकास अवरुद्ध हुने बताउँदै भने परिषदले बालबालिका लाई खेलकुदमा आकषर्ण बढाउन विभिन्न योजनाहरु अघि सारेको बताए । खेलकुदको विकासमा बालबालिकाको मौलिक अधिकार समेत जनाउँदै उनले भने–“खेलकुदको विकासका लागि अब सबै राजनितिक दलहरुलाई समेत बुझाउन आवश्यक छ ।”
खेलकुदको समस्या र बजेट बढाउने बारे खेलकुदमा लागेका सबैले मिलेर आवाज उठाउन आवश्यक रहेको औंल्याउँदै सदस्य सचिब शर्माले राष्ट्रिय खेलाडीहरुले मासिक भत्ता प्राप्त गर्न सके त्यसले समाजमा सकरात्मक परिवर्तन आउन सक्ने जनाए ।
गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगत कायस्थको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केही तौलमा बिजेता खेलाडीहरुलाई मन्त्री थापा, सदस्य सचिब शर्माले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा वढि खेलाडीहरुको सहभागिता रहेको उक्त खेलका मुख्य प्रशिक्षक नाराज बहादुर खड्का (हरि)ले जानकारी दिए ।

