
पोखरा स्पोर्टस । पोखराका टेनिस खेलाडी तथा प्रशिक्षक निरज गुरुङ मालदिभ्स जाने भएका छन् ।

मालदिभ्सको एक टेनिस एकेडेमीमा प्रशिक्षकको रुपमा अनुवन्ध भए पछि निरज त्यसतर्फ जाने भएका हुन् । १० वर्षको उमेरबाटै टेनिस खेल्न थालेका २१ वर्षिय निरजको प्रशिक्षकका रुपमा पहिलो विदेश यात्रा हो । उनले सन २०१८ मा भारतको दिल्लीमा सहायक प्रशिक्षकको प्रशिक्षण लिएका थिए भने भारतको दिल्लीमा नै स्थानिय एक एकेडेमीमा प्रशिक्षण समेत दिएका थिए ।
पोखरा ५ पर्स्याङमा आफ्नी आमा र दिदी संग बस्दै आएका निरजलाई विहिबार कास्की जिल्ला टेनिस संघले विदाई गरेको छ । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, अध्यक्ष लोक गुरुङ लगायतले उनलाई विदाई गरेका थिए ।
सँधै जसो पोखरा रंगशालास्थित टेनिस कम्लेक्समा भेटिने निरज एक वर्षका लागि उक्त एकेडेमीमा अनुवन्ध भएकाले आफू प्रशिक्षकको रुपमा मालदिभ्स जान पाउँदा खुसी लागेको बताए । “मलाई पनि अरु जस्तै यूवाहरुलाई जस्तै आफ्नो देश छोडेर विदेश जान रहर छ र ?” उनले पोखरा स्पोर्टस संग प्रतिप्रश्न गर्दै भने–“तर यो यात्राले मलाई धेरै नयाँ अनुभव संगाल्न मौका दिनेछ ।” उनले मालदिभ्समा सिकेको शिपलाई आफ्नै देशमा फर्किएर अरुलाई वाँड्ने बताए । उक्त एकेडेमीमा उनी संगै अरु तिन जना प्रशिक्षक समेत रहेको निरजले बताए ।
पोखरामा रहेर टेनिस खेल्दै र सिकाउँदै आएका निरजले पछिल्लो पुस्ताका स्पन्दन उदास, डोजन गुरुङ, इशान गुरुङ लगायत जस्ता खेलाडीहरु उत्पादन गरेका छन् ।
पोखराको टेनिसबाट उदायका कुमार अधिकारीले मालदिभ्सको राष्ट्रिय टेनिस टिमलाई प्रशिक्षण दिइरहेका छन् भने मालदिभ्सको उक्त एकेडेमीमा प्रदिप खड्का र शक्ती शर्माले आफ्नो प्रशिक्षणको दक्षता पदर्शन गरेका छन् ।
