
पोखरा स्पोर्टस । बंगालादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिवल प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीले फाइनलमा आफ्नो स्थान शुरक्षित गरेको छ ।

सोमबार भएको उज्वेकिस्तान विरुद्ध प्रतियोगिताकै महत्वपूर्ण खेल जित्दै साविक विजेता नेपाली महिला राष्ट्रिय टोलीले फाइनलमा स्थान पक्का गरेको हो । नेपाली महिला तथा पुरुष टिमको हौसला बढाउन बंगालादेश पुगेका नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष याम बहादुर गुरुङले सोमबारको आफ्नो खेलमा नेपाली महिला टोलीले ३–० को सोझो सेटमा उज्वेकिस्तानलाई पराजित गरेको पोखरा स्पोर्टसलाई बताए । महिला टोलीले पहिलो टोलीले २५–२० ले पहिलो सेट जित्दै उज्वेकिस्तानलाई दवावमा राखेको थियो भने दोश्रो सेट २५–२३ र तेश्रो सेट २५–१४ ले जित्दै फाइनलमा स्थान शुरक्षित गरेको छ ।
नेपाली महिला राष्ट्रिय टोलीले फाइनलमा उज्वेकिस्तान र श्रीलंका मध्ये एकको विजेता संग फाइनलमा भिड्ने छ ।
यता पुरुष राष्ट्रिय टोलीले समेत बंगालादेशमा जारी प्रतियोगितामा उत्कृष्ट लय कायम गर्दै मालदिभ्सलाई सोमबारको खेलमा पराजित गरेको छ । नेपालले मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २७–२५ ले जितेको नेपालले दोश्रो र तेश्रो सेटमा मालदिभ्सलाई दवावमा राख्दै २५–१९ र २५–२३ ले पराजित गरेको छ । यो जित संगै नेपालको पुरुष राष्ट्रिय टोली समेत पदकतर्फ उन्मुख भएको कार्यबाहक अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए । सोमबारको खेलमा नेपाली राष्ट्रिय टोलीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।
