राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ द्वारा राष्ट्रिय प्रतियोगिता गर्न आग्रह

पोखरा स्पोर्टस । नेपाली खेलाडीहरुको छाता संस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहल शुरु गर्न सरकार संग माग गरेको छ ।

पाँच दलिय गठवन्धन सरकारमा यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री महेश्वर गहतराजलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै संघले नवौं रािष्ट्रय खेलकुद प्रतियोगिताको मिती तत्काल घोषणा गर्न माग गरेको हो ।

संघका अध्यक्ष दिपक श्रेष्ठ सहितको नेतृत्वको प्रतिनिधी मञ्डलले मन्त्रालयमा पुगेर मन्त्री गहतराजलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुको समस्या तत्काल सम्वोधन गर्न माग गर्दै कोभिड १९ का कारण स्थगित नवौं राष्ट्रिय प्रतियोगिता सञ्चालनका लागि पहल गर्न माग गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मन्त्री गहतराजलाई बुझाएको ज्ञापन पत्रको पूर्ण पाठ

विषय : ज्ञापन–पत्र

१. खेलाडीले आफ्नो जीवनको अधिक समय प्रशिक्षणमा विताउनुपर्ने हुन्छ । जसका कारण अध्ययन पनि राम्ररी पूरा गर्न नसकेका थ्रुपै उदाहरण छन् । राष्ट्रको प्रतिष्ठा बढाउनका लागि आफ्नो उर्भर समय खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रुपमा पनि निकै कठिनाई भोग्नु परेको उदाहरण हाम्रा सामू छन् । त्यसको न्युनिकरणका लागि खेलाडी र पूर्व खेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, विमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने हुन्छ । अन्थया नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ । जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, पदक विजेता (पदकको पनि वर्गिकरण) सबैका लागि सामाजिक सुरक्षामा के कति व्यवस्था गर्न सकिन्छ त्यसको वर्गिकरण गरि नीतिनै बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

२. कुनै पनि खेलाडीले पदक जित्दा केही दिन चर्चा र केही पुरस्कार दिने परम्परा छ । तत्कालका लागि त्यो केही गरे जस्तो हुन्छ । तर, त्यसले खेलाडीको खेल जीवन र जीवनयापनका लागि पर्याप्त हुँदैन । त्यसैले कुन प्रतियोगिताका कुन पदकका विजेतालाई नियमित रुपमा कति भत्ताका रुपमा उपलब्ध गराउने भन्ने नीति नै बनाउनुपर्ने आवश्यकता छ । त्यसका लागि व्यापक अध्ययन अनुसन्धान, अन्य देशको अभ्यासलाई पनि हेर्न आवश्यक छ ।

३. नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अविभावकले पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बुझ्ने गरि सरकारले नीति ल्याउन आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाटै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।

४. समाजिक रुपमा खेलाडीको प्रतिष्ठा कायम गर्न सरकारले खेलाडीका लागि विशेष अभियान सञ्चालन गर्नुपर्दछ । स्थानीय स्तरका खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरि परिचय पत्रको व्यवस्था र त्यो परिचय पत्र प्राप्त गर्नेलाई सरकारले निश्चित सहुलियत दिने व्यवस्थाका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

५. दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने नियमावली छ । त्यो तत्कालका लागि उपयुक्त छ । तर, विगतमा सागमा एकपटक, दुईपटक, तीनपटक सम्म पदक जित्ने खेलाडीका लागि सरकारले के गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने अवस्था छ । अन्यथा पहुँच हुनेले सबथोक पाउने तर उत्तिकै योगदान भए पनि पहुँच नहुनेले केही नपाउने अवस्था नेपाली खेलकुदमा विद्यमान छ । देशका लागि पदक जित्ने खेलाडीले हकलाग्दो सुविधा र सम्मानका लागि पनि राजनीतिज्ञ र प्रशासकहरुको ढोका ढोका धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । खेल जीवनपछि ती खेलाडीले खेल क्षेत्रलाई आफ्नो अनुभव साट्ने थलोको रुपमा प्रयोग गर्न उनीहरुलाई उचित जिम्मेवारी दिने परम्पराको थालनी गर्न आवश्यक छ । अन्यथा, विगतमा जस्तै खेल जीवन पछि त्यस्ता खेलाडी विदिशिएका थ्रुपै उदाहरण छन् । खेल जीवन पछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्न आवश्यक छ ।

६. १३ औं दक्षिण एसियाली खेलकुद देशमै भव्य रुपमा सम्पन्न भइसकेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य सहित कुल २०७ पदकका साथ दोस्रो स्थान हासिल गर्यो । तर देशलाई ऐतिहासिक रुपमा क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेलामा दोस्रो स्थान दिलाउने खेलाडी र प्रशिक्षकको योगदानको उचित कदर भएको छैन । त्यही सागको नाममा परिषद र मन्त्रालयका सीमित पदाधिकारी तथा कर्मचारीले राष्ट्रिय विभुषण पाए पनि खेलाडी र प्रशिक्षकहरु त्यसबाट बञ्जित भएको उदाहरण मन्त्री ज्युलाई जानकारी नै होला । तथापि १३औं सागमा स्वर्ण विजेता खेलाडीलाई आकर्षक पुरस्कार दिइएकोमा खेलाडी संघ नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ । तर रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएकोमा सरकारको ध्यानाकर्षण गराउँदै पदक विजेता खेलाडीको रोजगारीको लागि पनि पहल गर्न सके खेलकुुदका ति अमुल्य सम्पत्तिलाई पलायन हुनबाट रोक्न सकिने विश्वास व्यक्त गर्न चाहन्छ ।

७. कोभिड १९ महामारीका कारण रोकिएको नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव तत्काल गर्नका लागि मन्त्री ज्युबाट पहलकदमी होस ।

८. विगतमा सबै खेलका राष्ट्रिय टोलीको लागि १२ महिना नै नियमित प्रशिक्षणको व्यवस्था भइसकेको थियो । तर पछिल्लो समय महामारीका कारण यो रोकिएको अवस्था छ । तर अब महामारी धेरै हदसम्म नियन्त्रणमा आइसकेको र खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाबाट त्यो प्रशिक्षण कार्यक्रम तत्काल सञ्चालन गराउन पनि आवश्यक छ ।

दीपक श्रेष्ठ
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close