
पोखरा स्पोर्टस । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लब सहित ८ टिमको सहभागिता रहने भएको छ ।
आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै प्रतियोगितामा सहभागि हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले खेलमा यो प्रतियोगिता पछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पुर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताए ।
नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखी १२ गतेसम्म प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीहरुको लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्याराफिट अनुसार टिकटको ब्यबस्था गरिएको छ ।
लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिइएको छ ।
