
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशलाई बजेट नपरेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।
गफका सूचकहरु (विगत चार वर्ष देखि) के–केमा ठगिए पोखरेलीहरु
१। पोखरा फुटबल स्टेडियम फ्ल्ड लाइट
२। अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम
३। बहुउद्धेश्यिय कभर्डहलमा साउण्ड सिस्टेम र कुर्चीको व्यवस्था
४। निर्माण सम्पन्न भएको पोखरा फुटबल स्टेडियममा थप ३ हजार दर्शक क्षमता बढाउने विषय
५। अतिरिक्त फुटबल मैदानमा ट्रफ विछ्याउने विषय
६। लेखनाथ भण्डारढिकको कभर्डहल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता
७। पोखरा रंगशालामा हिटिङ स्विमिङ पुलको निर्माण
बिहिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट भाषणमा मुख्य मुख्य केही योजनालाई समेटेर बजेट सुनाउने गरेको र गण्डकीका लागि पर्याप्त मात्रामा बजेट विनियोजन भएको बताएका हुन । पोखरा स्पोर्टसले शुक्रबार बिहान बजेट सम्वन्धमा प्रकाशित गरेको समाचारलाई इङ्गित गर्दै सदस्य सचिब घिसिङले गण्डकी प्रदेशलाई प्रशस्त बजेट विनियोजन हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
गण्डकी प्रदेशमा प्रशस्त बजेट आउने राखेप सदस्य सचिबले दावी गरे पनि राखेपले निर्माण सुरू गरेका गण्डकी प्रदेशका विभिन्न कभर्डहलहरु विगत तीन वर्ष देखि अलपत्र र वेवारिसे अवस्थामा छन् । राखेपले अधकल्चो बनाएर छोडेका पूर्वाधारका विषयमा भने सदस्य सचिब घिसिङ मौन रहेका छन् ।
नेपाल खेलकुद पत्रकार पञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखरा क्रिकेट मैदान निर्माणका लागि तीन करोड रुपैयाँ विनियोजन हुने र ति बाहेक राखेपले रातो किताबमा सात वटै प्रदेशका खेल पुर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको सुनाए ।
आर्थिक वर्ष २०८२/०८३ मा खेलकुदको बजेट ६ अर्ब ८ करोडको रहेको छ । यो बजेट खेलकुदमा हालसम्मकै उच्च हो । गत वर्ष तीन अर्व ५० करोड बजेट विनियोजन भएको थियो । ‘नेपाल सरकारले आफ्नो बजेट पेश गरेको छ नेपाली खेलकुदको इतिहासमा अंकमा बजेट निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुदका लागि उत्साहजनक विषय हो । गण्डकी प्रदेशलाई शुन्य भन्ने कुरा सत्य होइन । बजेटमा हाइलाइट्स राख्ने गरिन्छ सबै कार्यक्रम पेश गर्न सम्भव छैन’ उनले भने, ‘मन्त्रालयको बजेट कति रह्यो र कार्यक्रमका मुल मुल हाइलाइट्स राखेर पुरा बजेटलाई पेश गर्ने कुरा हो । त्यसकारणले सदस्य सचिवको हिसाबले परिषदको बजेटमा गण्डकीका पुर्वाधार परेका छन् भन्न चाहान्छु ।’
पोखरा रंगशालाभित्रको क्रिकेट मैदानका लागि बजेट विनियोजन भएको र यस अघि आएको भन्दा तेब्बर बजेट आउने समेत उनले सुनाए । २०२७ मा महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रुपमा आयोजना गर्दैछ । नेपालमा हुने खेलका लागि पोखराको क्रिकेट मैदानको स्तरोन्नतीको काम चलिरहेको र सोही कामका लागि तेब्बर बजेट विनियोजन हुने सुनाएका हुन् । फुटबल मैदानका लागि हाइमास्ट फ्लड लाइटका लागि नेपाल उड्ययन प्राधिकरणसंग बारम्बार छलफल गरेपनि स्विकृत नपाएको समेत सुनाउँदै त्यसका लागि दोस्रो विकल्पमा आगामी दिनमा जाने सुनाए ।
यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका लागि रंगशालाभित्रको एक सभाहल प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले यथाशिघ्र उक्त सभाहल प्रदान गर्ने समेत बताए । मञ्चलाई हल प्रदान गर्नका लागि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहल गरेका थिए । उनले अध्यक्षमा नियुक्ति भए लगत्तै मञ्चका लागि हल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
