
पोखरा स्पोर्टस । पोखराको भ्रमणका लागि आएका प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले बिहिबार पोखरा रंगशाला भ्रमण गरेका छन ।
यस्तो भने मुख्यमन्त्री राउतले
पोखरा रंगशालाको अवलोकनका क्रममा मुख्यमन्त्री राउतले पोखरा स्पोर्टस संग कुरा गर्दै आफू निकै ‘इन्सपायर’ भएको बताए । रािष्ट्रय खेलकुद परिषदका पूर्व सदस्य सचिव यूवराज लामा सहित रंगशाला प्रवेश गरेका मुख्यमन्त्री राउतले भने–“यहाँको स्थानियहरुको सहयोगमा यति ठूलो पूर्वाधारको निर्माण संगै संरक्षण समेत भएको रहेछ, म यो देखेर निकै ‘इन्सपायर’ भएँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको निम्तोमा पोखरा आएका मुख्यमन्त्री राउतले पोखरा रंगशाला एकदमै राम्रो भन्दै प्रशंसा मात्रै गरेनन पोखरेली खेलप्रेमी र स्थानियहरुको खेलप्रतीको चासोले पनि उत्तिकै अचम्भित बने । मुख्यमन्त्री राउतले पोखरा रंगशाला जस्तै रंगशालाहरु अन्य प्रदेशमा समेत निर्माण गरिनुपर्ने कुरामा जोड दिंदै भने–“युवाहरुलाई ‘इन्सपायर’ गर्न र उनीहरुको खेलप्रतीको भावना जगाउन यस्ता संरचना बनाउनु पर्दछ ।”
मुख्यमन्त्री राउतले प्रदेश २ मा समेत यस्तै संरचना बनाउन आफ्नो पूर्ण प्रयास रहने प्रतिवद्धता जनाउँदै आगामी नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत प्रदेश २ ले विशेष ध्यान दिने उल्लेख गरे ।
पोखरा रंगशालामा आएका मुख्यमन्त्री राउतले फुटबल स्टेडियम, क्रिकेट, टेनिस, वहुउद्धेश्यिय कभर्डहल, टेनिस, भारोत्तोलन, आर्चरी लगायतका पूर्वाद्धारहरुको चाख मानेर अवलोकन गरेका थिए ।
पोखरा रंगशालामा पहिलो पटक प्रवेश गरेका मुख्यमन्त्री राउतलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, पर्यटन व्यवसायीहरु, खेलकुद संघका पदाधिकारीहरु तथा खेलाडीहरुले स्वागत गरेका थिए ।
मुख्यमन्त्री राउत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीको निम्तो गण्डकी प्रदेश नाटाको समन्वय र पोखरा पर्यटन परिषदको विशेष सहयोगमा पोखरा भ्रमणका लागि आएका हुन ।
