
पोखरा स्पोर्टस । नेपाल आर्मीले इन्डोर हक्की प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ ।
आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गरेको छ । विजयी टिमका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे ।
यता महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई पेनाल्टीमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
आर्मीबाट सीतामाया बल, हिमाली थापा र अन्जना चन्दले गोल गरे । सुदूरपश्चिमबाट सुनिता नेगी र लक्ष्मी बमले गोल गरे ।
दुई दिने प्रतियोगिताको उद्घाटन शनिबार राखेपका सदस्य राजेश कुमार गुरुङले गरेका थिए । उक्त प्रतियोगिता पोखरा रंगशालास्थित वहुउद्धेश्यिय कभर्डहलको ह्याण्डबल म्याटमा भएको थियो । उक्त ह्याण्डबल म्याट १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा ह्याण्डबल खेल प्रयोजनका लागि राखेपले ६५ लाखमा खरिद गरेको थियो ।
पोखरामा लामो समय देखि हक्की खेल मैदानका लागि खेलाडीहरुले आवाज उठाउँदै आए पनि कुनै जग्गा उपलव्ध हुन सकेको छैन भने नेपाल हक्की संघले नवलपुरको गैंडाकोटमा अन्तर्राष्ट्रियस्तरको हक्की मैदान निर्माणका लागि दुई वर्ष अघिबाट छुट्टै पहल गरेको भए पनि निर्माण कार्य अझै सुचारु भएको छैन ।
