नेपालको शाख जोगाउँदै पोखराको ह्याण्डबल

केशव पाठक/पोखरा,
पोखराको ह्याण्डबलको इतिहास २०३८ बाट सुरु भयो । नेपालमा ह्याण्डबल स्थापना संगै । काठमाण्डौमा पहिलो राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना भयो । पोखरामा पहिलो पटक मिन विक्रम शाह पहिलो प्रशिक्षकका रुपमा पोखरा आए । उनलेनै पोखरामा ह्याण्डबलको जग यति बलियो बनाएकी त्यो यात्रा आज पर्यन्त जारी छ ।

२०३८ सालमा पहिलो पटक पिएन क्याम्पसमा ह्याण्डबलको प्रशिक्षण शुरु भयो । पिएन क्याम्पसमा पढ्दै गरेका खेलमा रुची राख्ने केही युवाहरु ह्याण्डबल खेल सुरुवात गर्न थाले । क्याम्पसमा स्वास्थ र शारिरिक विषय अध्यापन गराउने कृष्ण थापाले युवाहरुलाई ह्याण्डबल प्रशिक्षण गराउँथे भने संगै खेल शिक्षक स्व. रञ्जित गुरुङले पनि उनीहरुलाई हौसला दिन्थे ।

ह्याण्डबल खेल्न आउने धेरै जसो युवाहरु मध्ये केही भलिवल खेलाडी थिए भने कोही बास्केटबलका थिए । २०३८ सालमा पहिलो राष्ट्रिय ह्याण्डबल प्रतियोगिता काठमाण्डौ सम्पन्न भयो । २०३८ मा पहिलो पटक पुरुष राष्ट्रिय ह्याण्डबल खेल्न जाने युवाहरुमा राम गुरुङ, पृथ्वीमान गुरुङ, रबी कायस्थ, गणेश पुन, याम गुरुङ लगाएतका थिए । पहिलो सहभागितामानै गण्डकीको टिमले दोश्रो स्थान हासिल गर्यो । २०३९ सालमा बिराटनगर र धरानमा दोश्रो पुरुष राष्ट्रिय ह्याण्डबल  तथा हेटौडामा प्रथम अन्तर नगर ह्याण्डबल प्रतियोगिता सम्पन्न भयो । त्यहाँ सम्पन्न दुवै प्रतिष्पर्धामा गण्डकीले तेश्रो स्थान हात पार्यो ।

यता संग–संगै महिला टिम समेत तयार भयो । २०३९ सालमा तत्कालिन रानीको शुभजन्मोत्सवमा पहिलो पटक राष्ट्रिय ह्याण्डबल प्रतियोगिता काठमाडौमा भयो । तत्कालिन गण्डकी अञ्चल बाट पुष्पा श्रेष्ठ, निर्मला गुरुङ, शकिला ताम्राकार, ज्वाला थापा, शुसिला गुरुङ, नारायणी उदास, चिजा गुरुङ, चन्द्रा गुरुङ, मिरा मर्सानी र लक्ष्मी गुरुङले सहभागिता जनाए । महिला टिम समेत बागमती संग पराजित हुँदै फाइनलमा दोश्रो स्थान कायम गर्यो । २०३९ मा नै धरानमा पहिलो महिला राष्ट्रिय ह्याण्डबलमा तेश्रो स्थान प्राप्त गर्यो । महिला टिमलाई जिवन बस्नेतले प्रशिक्षण दिएका थिए ।

विस २०४० सालमा दोश्रो राष्ट्रिय खेलकुदमा गण्डकीको ह्याण्डबल टिमले आफ्नै मैदानमा ऐतिहासिक सफलता पायो । १४ अञ्चलका पुरुष टिमलाई पछि पार्दै तेज गुरुङको कप्तानीमा उत्रिएको गण्डकीले स्वर्ण पदक हासिल गर्यो । जुम गुरुङ, तेज गुरुङ, इश्वर अधिकारी र लिलिजङ्ग गुरुङ जस्ता हस्तीहरु गण्डकीको टिमलाई उकासे । टिममा टंक गौचन, महेन्द्र श्रेष्ठ, टेक बहादुर गुरुङ, ईश्वर अधिकारी, युद्ध गुरुङ, इश्वर गुरुङ, पुर्ण भुजेल, याम गुरुङ जस्ता खेलाडीहरु टिममा थिए । २०४१ मा देवेन्द्र शेरचन, रमेश गुरुङ, शम्भु गुरुङ, ज्ञान बहादुर शाही लगाएत केही नयाँ खेलाडी टिममा समावेश भए । सोही वर्ष चौथो राष्ट्रिय ह्याण्डबल भद्रपुरमा दोश्रो स्थान हात पार्यो ।

यो टिमले विसं २०४५ साल सम्म लगातार खेल्यो । पोखराका उत्पादन भएका खेलाडी मध्ये जुम, तेज र लिली निकै आक्रमक खेलाडी थिए । मैदान भित्र जुम र तेज प्ले मेकर अनि लिली पिपी । तेजको प्रहार निकै अचुक हुन्थ्यो । बललाई गोली जस्तै प्रहार गर्थे । तेजको ह्याण्डब पावरको चर्चा गर्दै अग्रज खेलाडी राम गुरुङ भन्छन–“तेजाको ह्याण्ड पावर त मैलै अहिले सम्म कुनै खेलाडीको देखेकै छैन ।” किपर पनि उनको प्रहार रोक्न डराउँथे । यता लिली चतुर खेलाडी थिए । एकातिर हेर्ने अनि अर्को तिर बल फ्याक्ने, उनको चाल एकदमै छिटो र छरितो । २०४३ मा लुम्विनीमा भएको एक खेलमा लिलीले खुट्टाले गोल गर्दा समेत रेफ्रीले चाल नपाएको घटना सुनाउँछन जुम गुरुङ । उनी भन्छन–“लिलीको खेलमा जादुनै थियो, भने तेजको पावर गेम, प्रतिष्पर्धीहरु छेउमा पर्नै डराउँथे ।”

२०४२ सालमा तेज प्रशिक्षणको तालिमका लागि भारतको पटियाला पुगे । उनले त्यहाँ नयाँ रेकर्ड कायम गरे । सन १९८५/८६ मा १० महिने कोर्षमा उनी गोल्ड मेडलिष्ट(कक्षामा सर्वोत्कृष्ट) हुँदै स्वदेश फर्किए । तर पनि उनी राष्ट्रिय टिममा रहिनै रहे । प्रशिक्षकको तालिममा रहँदा पनि नेपालमा आएर तेश्रो राष्ट्रिय खेलकुद विरगञ्ज हुँदै १९८७ मा हङकङ खेल्न पुगे भने १९८८ मा रसियामा प्रशिक्षण समेत लिए । सोही क्रममा १९८८ मा जोर्डनमा सम्पन्न चौथो एसियन च्याम्पियनशिपमा नेपाली टिमले सहभागिता जनायो । तेज सहित पोखराका लिली टिममा थिए । नेपाली टिमको कप्तानी समेत तेजलेनै सम्हालेका थिए । तेजले फिनल्याण्डमा सम्पन्न एक प्रतियोगितामा उत्कृष्ट खेलाडी हुने सौभाग्य पाए । सोही वर्षको वि टिम बाट जुम गुरुङले समेत रसियामा प्रशिक्षणको मौका पाए ।

सन १९८५ (२०४१) मा पोखरामा ब्रिटिस प्रशिक्षक पाउल ब्रे पोखरा आएका थिए । उनले आधुनिक ह्यण्डबलको जग बसाले पोखरामा । फिसटेल लजमा बस्ने उनी साइकल चढेर पिएनमा ह्याडबल सिकाउन पुग्थे । उनी पोखरा दुई पटक आएका थिए । त्यस अघि एक जना रसियन प्रशिक्षक समेत पोखरा आएर पुरुष र महिला टिमलाई ह्याण्डबल प्रशिक्षण दिइसकेका थिए । पोखरा अर्थात गण्डकी बाट २०४० देखि २०४५ सम्म करिव करिव पुरुष टिमको सेट एउटै थियो । त्यो विचमा केही नयाँ खेलाडी समेत प्रवेश गरे कमल गुरुङ, विर बहादुर गुरुङ, विष्णु गुरुङ, चित्र गुरुङ, जग बहादुर गुरुङ लगाएत ह्याण्डबलमा प्रवेश गरे । त्यस मध्ये चित्र पछि बक्सिङका उत्कृष्टनै भए ।

२०४९ पछि पोखराको महिला ह्याण्डबलमा नयाँ महिला ह्याण्डबल सेट मैदानमा उत्रियो । जसमा शान्ती गुरुङ, विद्या गुरुङ, अप्सरा गुरुङ, शान्ती वैद्य, बाला गुरुङ, आशा गुरुङ, सुमन खडका, खिना गुरुङ, पुष्पा रावल, खेम गुरुङ, चिजा गुरुङ, ओम पुन, कमला गुरुङ लगाएतका खेलाडी थिए । यो टिमले विराटनगर र दाङ लगाएतका स्थानमा भएको राष्ट्रिय ह्याण्डबलमा पुरानै गति कायम गर्यो । २०५२ सम्म निरन्तर जमेको यो टिम पछि नेपालको राजनितकि द्वन्द पछि गतिरोध आयो ।

२०४६ पछि यहाँको ह्याण्डबल केही शिथिल बन्दै गयो । बहुदल प्राप्तीको जनआन्दोलन लगाएत सन्दर्भ समेत त्यसमा जोडिन पुग्यो । २०४९ मा तुलसीपुरमा पुरुषको राष्ट्रिय ह्याण्डबल भयो । त्यसमा केही नयाँ र पुराना खेलाडी थपिए । राम गुरुङ, गोपाल ताङवे, रविन शाही, होम थापा सहित पुराना खेलाडी पनि रहे । त्यो अन्तिम खेल थियो । ह्याण्डबलमा चरम राजनिती संगै प्राय ह्याण्डबल कागजको पानामा सिमित भयो ।

त्यसको ठ्याक्कै १० वर्ष पछि २०५८ सालमा गण्डकीको पुरुष ह्याण्डबल टिम नयाँ श्वास प्राप्त गर्यो । नेपाल ह्याण्डबल संघले गति लिए संगै २०५८ मा कास्कीमा समेत जिल्ला संघ गठन भयो । त्यसको अध्यक्षमा शेर बहादुर गुरुङ र सचिब केशव पाठक थिए । २०५८ मा पिएन क्याम्पसमा एक प्रशिक्षण कार्यक्रमको पुर्नउदय भयो । त्यहा चित्र थापा, होम राना, राजेन्द्र हमाल, पदम गुरुङ, ध्वज कुमार गुरुङ, जुमकाजी गुरुङ, सोमकाजी गुरुङ, उत्सव गुरुङ, चन्द्रा केसी, प्रेम गुरुङ, उत्सव गुरुङ, सन्तोष श्रेष्ठ, तारा केसी, पवन छन्त्याल, मन बहादुर गुरुङ, किरण गुरुङ लगाएतको खेलाडीले गण्डकीलाई फेरि पुरानै ठाउँमा उभ्भाए । धेरै विद्यालयमा समेत ह्याण्डबलले गति पायो । टप्स कप, डाँफे कप, स्व मन बहादुर कप, हिमालय क्लव कप, प्रितनापती कप, कसमस कप, माउन्ट अन्नपुर्ण कप, एकता कप, हङकङ व्युटी कप, लिटिल स्टेप कप हुँदै एनप्यावसन खेलकुदमा समेत ह्याण्डबलले स्थान बनायो । पोखराका् ह्याण्डबल खेल इतिहासमा विर बहादुर गुरुङले लामो समय सम्म खेलेको रेकर्ड छ । २०४५ साल बाट खेल्न सुरुवात गरेका उनले २०६० सम्म खेले ।

२०५८ मा जन्मिएको त्यो टिमले २०६० सम्म निरन्तरता दिंदै त्यस यता २०६४ सम्म राष्ट्रिय ह्याण्डबलमा गण्डकीको शाखलाई कायमनै राख्यो । २०६४ मा नरकाजी गुरुङ, विमल थापा, रोशन गुरुङ (ए), रोशन गुरुङ (बि), अशोक आले, विशाल बस्नेत, विमल थापा, विमल अधिकारी, विपिन विष्ट, विशाल नेपाली, झपट थापा, प्रशान्त राना कुवर, राम बहादुर क्षेत्री, रविन ठुकरी, भानु गुरुङ, सुरज देवकोटा, दिनेश श्रेष्ठ लगाएत खेलाडीहरु पोखराले उत्पादन गर्यो ।

२०६४ पछि गण्डकीको महिला ह्याण्डबल टिममा एलिशा क्षेत्री, सुमन गुरुङ, चाँदनी गुरुङ, दक्षिणा गुरुङ, अस्मिता गुरुङ, निश्मा शाक्य, अस्मिता श्रेष्ठ, निश्मा शाक्य, टिका माया पुन, शितल सिंह भण्डारी, रोनिता गुरुङ टिममा रहे । यो टिमले सातौं राष्ट्रिय खेलकुद २०७३ सम्म निरन्तरता पायो । सन २०१९ मा भारतमा सम्पन्न महिला जुिनयर एसियन ह्याण्डबल च्याम्पियनशिपमा समेत ७ जना खेलाडी सहभागिता जनाएका थिए ।

२०७६ वैशाखमा नेपालगञ्जमा आँठौ राष्ट्रिय खेलकुदमा सम्पन्न महिला खेलाडीहरुमा दिप्ती गुरुङ, सरिता गुरुङ, श्वेता गुरुङ, सरिता भुजेत, योगिता गुरुङ, निश्मा वस्नेत, सुमन गुरुङ, झिन माया थापा(मोनिका), कोमली खडका, दिया थापा, महिमा केसी लगाएतका खेलाडीले सहभागिता जनाएका थिए । त्यस मध्ये झिन मायाले नवौ सागमा समेत नेपाल टिम बाट खेल्दै नेपाली टिम बाट ऐतिहासिक रजत पदक हात पार्न सफल रहिन ।

गण्डकीको पुरुष टिमले पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण, छैटौमा स्वर्ण, सातौंमा काश्य, र आठौंमा स्वर्ण पदक जितेको थियो भने यता महिलातर्फको नतिजा पनि सन्तोषजनकनै छ । आठौ राष्ट्रिय खेलकुदमा महिला टोलीले तेश्रो स्थान हात पारेको थियो । यसै गरि सम्पन्न नवौ सागमा पुरुष टिम बाट विशाल वस्नेतले राष्ट्रिय ह्याण्डबल टोलीको नेतृत्व सम्हाले । नेपाली राष्ट्रिय टोलीमा दिनेश श्रेष्ठ, विशाल नेपाली, शरण थापा, सन्तोष श्रेष्ठ सहभागी थिए । तर नेपाली राष्ट्रिय टोलीले आफ्नै होम ग्राउण्डमा सोचे अनुरुपको नतिजा भने पाउन सकेन ।

पोखराको ह्याण्डबल केलाउँदा अग्रज फुटबलर शम्भु केसी ह्याण्डबलमा आशाबादी देखिन्छन । टिम गेममा ह्यण्डबलको गति निरन्तर समान छ । चाहे क्षेत्रिय होस वा राष्ट्रिय गण्डकी टिमको नतिजा लोभ लाग्दो रहेको उनको भनाई छ । करिव ३८ वर्षको इतिहासमा ह्याण्डबलको जगलाई बलियो बनाउन पोखराका ति खेलाडीको योगदानको कदरलाई विर्सन हुँदैन जसले निरन्तर ह्याण्डबलको शाखलाई माथी उठाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका छन । तर अहिलेका नयाँ पुस्ताका खेलाडीमा अनुशासनको कमी देख्छन अग्रज खेलाडी राम गुरुङ । खेलको अनुशासन राम्रो नहुँदा र खेलाडी भत्ताको पछि दौडदा खेलमा निरशपन आएको उनको भनाई छ । नेपालको शाख जोगाउने पोखराको ह्याण्डबलको भविष्य पोखरामा उज्जवल रहेको उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close