
पोखरा स्पोर्टस । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ सुरु भएको छ ।
पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल नयाँंगल्ली युवा क्लबको आयोजनामा आगामी १६ गते सम्पन्न हुने गरी आज देखि भेट्रान्स (३५ वर्ष माथी) फुटबल प्रतियोगिता सुरु भएको हो ।
कुल १८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलबाट ईन्द्रेणी एकिकृत विकास केन्द्रले १–० गोल अन्तरले ढिकुरपोखरी युवा सञ्जाललाई पराजित गर्दै आयोजक टिमले विजयी सुरुवात गरेको छ ।
त्यस्तै दोस्रो खेलमा रत्नसमाज कस्केरीलाई ब्रदरवुडले ३–१ गोलको अन्तरले सहज जित निकाल्यो । एनएमए गण्डकी शाखा र बिटी एफसी बिच भएको खेल ३–३ को बराबरी भएपछि ट्राईबेकरमा बिटीले ४–३ को गोल नतिजा सहित एनएमएलाई पाखा लगागदै क्वाटरफाईनलमा प्रवेश गरेकोे छ ।
यसैगरी आज भएको अन्तिम खेलमा सँगम फुटबल क्लबले लेकसाईड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । बुधबार पनि पहिलो चरणकै ६ खेल हुने बताउदै विहान ९ बजे पहिलो खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । यसअघि म्याग्दी समाज युकेका युवा अध्यक्ष अनिल मल्लले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ भने विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृट खेलाडी दाम्पत्यलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।
