
पोखरा स्पोर्टस । सहारा क्लब पोखराले जापानबाट आर्थिक सहयोग प्राप्त गरेको छ ।
तमु धिं जापानका निवर्तमान अध्यक्ष रमेशकुमार गुरुङको संयोजकत्वमा त्यहाँ संकलित २ लाख १५ हजार जापानी येन (नेरु करिव २ लाख) सहयोग गरिएको हो । उक्त रकम पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्कडप अवसरमा बिहीबार एनआरएनए आइसिसी उपाध्यक्ष रोविनप्रसाद शेरचनले सहारा क्लब पोखरा अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरिएको हो ।
नेपाली फुटबलको इतिहासमा जनस्तरको सहयोगबाट साढे दुई दशकदेखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्नुका साथै सहारा एकेडेमी सञ्चालन गरेर पुण्य काम गरेकोमा पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका गुरूंगको संयोजकत्वमा खेलकुदप्रेमीबाट उक्त रकम संकलन गरिएको थियो ।
सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै क्लब अध्यक्ष बरालले उक्त रकम सहारा एकेडेमीमा सदुपयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
बर्सेनि फुटबल प्रतियोगिता गरेर क्लबले पोखरा १७, दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा आश्रित बालकहरुलाई निशुल्क शिक्षा, दीक्षा दिलाउँदै आएको छ । हाल ८ जिल्लाका १४ बालक आश्रित छन् ।
