
पोखरा स्पोर्टस/ तस्विरः योगेन श्रेष्ठ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । भने एपीएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो ।
आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।
उता दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदुरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले १ गोल गरे ।
एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सुदुरपश्चिम समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
