
पोखरा स्पोर्टस । पल्सर स्पोर्टस अवार्ड पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाली भलिवल टिमकी कप्तान अरुणा शाहीलाई जिताउन आयोजित पुरुष भलिवल प्रतियोगिताको उपाधी स्याङजा जिल्ला भलिवल संघले जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा स्याङजाले पर्वत जिल्ला भलिवल संघलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । स्याङजाले पर्वतलाई २५–२०, २५–१८ र २५–१८ को स्कोरले परजित गरेको प्राविधक संयोजक तहल सिंह थापा मगरले बताए ।

यसै गरि आजै भएको सेमीफाइनलमा स्याङजाले वागलुङ ३–० को सोझो सेटमा र पर्वतले नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

कप्तान शाहीलाई जिताउन आजै सम्पन्न महिला तर्फको पदर्शन खेल एपिएफले जितेको छ । पदर्शन खेलमा एपिएफे होङवान्जी न्यू डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलमा एपिएफले २५–२२ र २५–१९ को अग्रता लिए पनि न्यू डायमण्ड खेलमा फर्किदै एपिएफलाई चुनौती पस्किएको थियो । तेश्रो र चौथो सेटमा कम व्याक गरेको न्यू डायमण्डले २६–२४ र २७–२५ को अंकले एपिएफलाई चुनौती पस्किए पनि अन्तिम सेटमा एपिएफले १५–९ ले खेल जित्न सफल भयो ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेह कुमार सिलवालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अवसरमा वोल्दै सदस्य सचिव सिलवालले कोभिड–१९को महामारी पछि खेलकुदले गतिलिन थालेकोमा खुसी व्यक्त गरे । उनले भलिवल संघलाई नियमित रुपमा प्रशिक्षण र प्रतियोगिताका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त हुनुभएका राखेप सदस्य राजेश कुमार गुरुङ, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई पश्चिमाञ्चल भलिवल संघ र कास्की जिल्ला भलिवल संघले सम्मान गरेको थियो । अभियान अन्तर्गत संकलन भएको रकमको विवरण भने पौष २९ गते सार्वजनिक गर्ने र अरुणा जिताउँ अभियानमा भोटिङ कार्यलाई जारि राख्ने नेपाल भलिवल संघका सचिब डिवी नेपालीले जानकारी दिए ।

यसै विच अरुणा जिताउ अभियानका लागि विदेशबाट समेत रकम पठाउन शुरु भएको छ । जस अन्तर्गत यूके शान्ती गुरुङ समुहको तर्फबाट बाट १ लाख ६५ हजार प्राप्त भएको आयोजकले जनाएको छ । उक्त रकम ज्ञानुवावाका संस्थापक प्राचार्य कृष्ण गुरुङले आयोजकलाई हस्तान्तरण गरेका थिए ।


तस्विरः राम गुरुङ/सुदर्शन रञ्जित
