कास्की फुटबल संघको निर्वाचन : तिन जना आकाँक्षी, को होला अध्यक्ष ?

सेभेन ए साइड फुटबल महासंघ नेपालका अध्यक्ष पुनको उम्मेदवारी

पोखरा स्पोर्टस । यहि बैशाख ७ गते कास्की जिल्ला फुटबल संघको निर्वाचन हुने भए पछि अध्यक्ष पदमा तिन जनाले आकाँक्षा जाहेर गरेका छन् ।

कास्की जिल्ला फुटबल संघको अध्यक्षमा हाल सम्म नविन पुन, बिनोद गुरुङ र उज्जवल रञ्जितले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिन लागेका नविन पुन सेभेन ए साइड फुटबल महासंघ नेपालका अध्यक्ष समेत हुन् । उनले लामो समय देखि महासंघको अध्यक्षमा नेतृत्व सम्हालिरहेका छन् । उनी दक्षिण एशियाली सेभेन ए साइडका उपाध्यक्ष समेत रहेका छन् । उनले रामघाट युवा क्लवको प्रतिनिधित्व गर्दै कास्की फुटबल संघको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । उनले आफ्नो छोटो भनाईमा कास्कीको फुटबल विकास नै अहिलेका लागि मुख्य उद्धेश्य रहेको बताउँदै त्यसैका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको उल्लेख गरे । उनले आफ्नो उम्मेदवारीका विषयमा सार्वजनिक रुपमा पत्रकार माझ राख्ने समेत बताए ।

त्यस्तै अर्का आकाँक्षी मध्येका एक हुन् बिनोद गुरुङ । उनी एन्फा फुटसल कमिटीका संयोजक समेत हुन् । पोखरा १२ निवासी गुरुङ पोखराको लेकसाइडमा फुटसल सेन्टर व्यवसायिक रुपमा सञ्चालन गर्दै आएका छन् । उनकै नेतृत्वमा हालै पोखरामा पहिलो पटक राष्ट्रिय फुटसल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको थियो । उनी गार्डेन युवा क्लवको प्रतिनिधित्व गर्दै कास्की फुटबल संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनको मुख्य उद्धेश्य फुटबल विकास नै रहेको बताए ।

त्यस्तै अर्का आकाँक्षी हुन उज्जवल रञ्जित । उनी पूर्व खेलाडीहरुको नेतृत्व गर्दै निर्वाचनमा होमिएको बताउँछन् । कुनै प्यानलको भन्दा पनि फुटबल विकास अहिले कास्कीको मुल मर्म रहेको बताउँदै भने–“कास्कीको फुटबलको स्तरियता खस्किएको छ । क्लवहरुको समन्वय आवश्यक छ । खेलाडी उत्पादन अहिले चुनौती बनेको छ । सवैकौ चिन्ताको विषय यही हो । त्यसैले फुटबल विकास अहिलेको मुल विषय हो । यसैका लागि मेरो उम्मेदवारी हो ।”

कुल २२ मत भएको कास्की फुटबल संघमा जितका लागि १२ मत आवश्यक पर्छ । कास्की फुटबलमा आवद्ध २२ वटै क्लवले तिन–तिन जना प्रतिनिधीहरुको नामावली समेत निर्वाचनका लागि पठाइसकेका छन् । तिन जना मध्ये एक क्लवको एक जना प्रतिनिधी गरी २२ जनाले उम्मेदवारलाई मतदान गर्न पाउने छन् । निर्वाचनबाट एक जना अध्यक्ष सहित ३ जना उपाध्यक्ष, ११ जना सदस्य (एक महिला सहित) निर्वाचित गराउन पाउने एन्फाको विधानमा उल्लेख छ । कास्कीमा सहारा क्लव, फुलबारी क्लव, सितल ज्योती क्लव, लाली गुराँस क्लव, एविसी क्लव, विष्णु पादुका, हेम्जा युनाइटेड, लेकसाइड युवा क्लव, युनाइटेड क्लव, भदौरे क्लव, एपेक्स क्लव, श्री सत्य युवा क्लव, संगम युवा क्लव, नयाँगाउँ युवा क्लव, भ्याली युवा क्लव, ड्यामसाइड युवा क्लव, आदर्श युवा क्लव, रामघाट युवा क्लव, डेभिसफल युवा क्लव, नव आदर्श युवा क्लव, इन्द्रेणी युवा क्लव, गार्डेन युवा क्लव रहेका छन् ।

निर्वाचनका लागि करिव तयारी सकिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । उनले नेतृत्वमा सर्वसम्मत गराउने आफ्नो प्रयास रहेको बताउँदै भने–“फुटबल चलाउन सजिलो छैन त्यसैले पदमा हानथाप गर्नु भन्दा सर्वसम्मत नेतृत्व छनौट गरी कास्कीले उदाहरण स्थापित गर्नुपर्ने हुन्छ ।”

यता कास्की फुटबल संघको सफल नेतृत्व गरिसकेका पूर्व अध्यक्ष खेम गुरुङ कास्कीको फुटबल खस्किएकोमा चिन्ता व्यक्त गर्छन । कुनै बेला राष्ट्रिय खेलाडी उत्पादनका लागि मुख्य थलो बनेको कास्की यति बेला फुटबलमा थला परेको उनको भनाई छ । कास्की एन्फाका लागि नेतृत्वका तिनै जना आकाँक्षीहरु आफूलाई भेट्न आएको र सबैलाई जितको शुभकामना समेत दिएको उनले बताए । उनले भने–“अहिलेको प्रमुख विषय नै फुटबल विकास हो । मैले यसैका लागि सबैलाई सुझाव समेत दिएको छु । हामीले कास्कीको फुटबल विकासको हितलाई सोचेर उत्कृष्ट मध्येको एकलाई नेतृत्वमा ल्याउनु पर्छ अहिलेको आवश्यक्ता यहि हो ।”

कास्कीमा फुटबल पूर्वाधारको हिसावले समेत यति बेला महत्वपूर्ण रहेको छ । चार वटा ठूला फुटबलका पूर्वाधार सहित माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुन लागेको एन्फा टेक्निकल सेन्टरले समेत कास्कीको ध्यान खिच्न सफल भएको छ । निर्माण सम्पन्न भएका पोखरा रंगशाला सहित अन्य फुटबलका पूर्वाधारहरुको संरक्षण सहित खेलाडी उत्पादन अहिले कास्कीका लागि चुनौती रहेको आकाँक्षीहरुले स्विकार गरे पनि २२ वटा क्लवका प्रतिनिधीहरुले गर्ने मतदान नै कास्कीको फुटबलको भविष्य संग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close