
केशव पाठक/पोखरा,
पोखरा रंगशाला परिशरमा गण्डकी प्रदेशकै पहिलो पाठशाला तयार हुने भएको छ । गण्डकी प्रदेश सरकारले यस आ.व.मा छुट्टाएको ५० लाख बाट उक्त गल्फ पाठशाला (एकेडेमी) तयार हुन लागेको हो । गल्फ खेलको विकासमा राज्यको लगानीमा पहिलो पटक पोखरामा एकेडेमी निर्माण हुन लागेको हो ।
पोखरा रंगशालाको पश्चिम तर्फ सेती नदीको किनारमा बन्न लागेको यो गल्फ कोर्ष नमुनाको रुपमा रहने कास्की जिल्ला गल्फ संघले जनाएको छ । “यो ड्राइभिङ रेन्ज मात्रै हो” कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले भने–“गल्फ सिक्नेहरुका लागि यो पहिलो खुटकिलो हुनेछ ।” राष्ट्रिय खेलकुद परिषद, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले पोखरा रंगशालामा यो गल्फ एकेडेमी बनाउन सहमती जनाई सकेको अध्यक्ष गुरुङले बताए । “यो काम हामीले ६ महिना भित्र सक्ने लक्ष्य लिएका छौं” उनल भने ।

करिब ३ सय मिटर लम्वाई र ४० मिटर चौडाईको यो मिनी गल्फ कोर्ष आधुनिक तरिकाले बनाउने सोच रहेको अध्यक्ष गुरुङले बताए । “पोखरामा हिमालयन गल्फ कोर्ष छ, तर यो ‘प्राइभेट’ भएकोले सबैको ‘एक्सेस’ पुग्दैन” उनले थपे–“हामीले गण्डकी प्रदेश बाट खेलाडी उत्पादन गर्नुछ, त्यसैले पनि यो ठाउँ उपयुक्त लाग्यो । पोखरा रंगशलामा यो कोर्ष बनाउँदा धेरैलाई गल्फमा आर्कषित गर्न सकिने र गल्फमा रुची राख्ने विदेशीहरु प्नि यहाँ आएर समय विताउने उपयुक्त हुने भएकोले पोखरा रंगशालामा बनाउने निधो गरिएको अध्यक्ष गुरुङको भनाई थियो ।
यो सानो गल्फ कोर्षलाई अन्तिम रुप दिन यसका डिजाइनर सन्तोष बराल खटिएका छन । उनले आफूले विदेशमा सिकेको शिप बाट यहाँ पोख्दैछन । “यो गल्फ के हो, गल्फ कसरी खेलिन्छ, र गल्फको सम्पुर्ण सिकाई यहिँ बाट हुन्छ” उनी भन्छन–“डिजाइन तयार हुँदैछ, कसरी ग्रिनमा गल्फ खेलिन्छ र हेण्डीकेप चेक गर्ने मात्रै हो, यो गल्फको ज्ञान लिने ठाउँ मात्रै हो ।”
पोखरा गल्फको लागि निकै उपयुक्त थलो हो । मेजर गुरुङ भन्छन–“हामीले पृथ्वी नारायण क्याम्पसको उत्तर पूर्वको ठाउँ समेत अध्ययन गरिसकेका छौं ।” यदि प्रदेश वा संघिय सरकार तयार भएमा पोखराको पिएन क्याम्पसको उक्त ठाउँ गल्फ रेन्जका लागि निकै उपयुक्त हुने उनको भनाई छ । पोखरा रंगशालाको काम सक्ने वित्तिकै पिएन क्याम्पसको लागि पहल शुरु गर्ने उनले बताए । “करिब ३ करोड खर्च आउन सक्छ, यस बारे हामीले प्रदेश र संघिय सरकारलाई भन्ने छौ” उनले थपे–“यहि पिएन क्याम्पसमा भयो भने गण्डकी प्रदेश भित्र खेलकुदमा नयाँ आयाम थपिने छ ।”
स्मरणिय के छ भने पोखरा रंगशालामा कास्की जिल्ला गल्फ संघले निर्माणको काम थाले पनि यति बेला लक डाउनका कारण ४ दिन देखि काम भने ठप्प भएको छ । लक डाउन खुल्ने वित्तिकै कामलाई सुचारु गरिने अध्यक्ष गुरुङले बताए ।
