
पोखरा स्पोर्टस । स्नातक तहमा नेपालको एक मात्र स्पोर्टस म्यानेजमेन्ट विषयमा अध्यापन गर्दै आएको गण्डकी विश्वद्यिालयद्वारा आयोजित ‘कुलपति रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८१’ शनिबारबाट अनौपचारिक रुपमा पोखरामा सुरू भएको छ ।
पोखरा रंगशालामा सुरू भएको प्रतियोगितामा पोखराका २२ विभिन्न विद्यालयले सहभागिता जनाएका स्पोर्टस म्यानेजमेन्टका कोर्डीनेटर डा मधुसुदन सुवेदीले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
यूवा खेलाडी उत्पादन संगै शिक्षा र खेलकुदको सामिप्यता गराउन आयोजित प्रतियोगिताको पहिलो दिन सवलाइम बोर्डिङले नेपाल आदर्श मा.विलाई २–० गोलले पराजित गरेको छ । खेलमा खेलको म्यान अफ दि म्याच बिजेता टोलीका खेलाडी सौरभ परियारले खेलको ३० औं मिनेटमा र मनिष वि.क.ले ४४ औं मिनेटमा गोल गरेको विश्वद्यिालयका प्राध्यापक सोनाम लामाले जानकारी दिए ।
शनिबार नै सम्पन्न पहिलो चरणको खेलमा अमर सिंह मावि विरुद्ध राष्ट्रिय माविले जित हात पारेको छ । खेलको दोस्रो हाफको इन्जुरी समयमा विपिन मगरको गोलले राष्ट्रिय मा.वि.लाई १–० को जीत दिलायो । उनी खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै शान्ति निकुञ्ज र फिष्टेल एकेडेमीका बीच भएको खेलमा दोस्रो हाफको ३६ औं मिनेटमा फिष्टेल एकेडेमीका प्रयुग भट्टचनले टोलीलाई अग्रता दिलाए पनि एक मिनेट लगतै शान्ति निकुञ्जका विश्वास गुरुङ्गले बराबरी गोल फर्काए । खेल अतिरिक्त समयमा प्रवेश गरे पनि, गोल रहित बनेपछि पेनाल्टीमा शान्ति निकुञ्जले ४–३ को जित दर्ता गर्न सफल भयो । शान्ति निकुञ्जका गोलरक्षक आशिक गुरुङ्ग “म्यान अफ द म्याच“ बने ।
सम्पन्न प्रतियोगिताहरुमा म्यान अफ द म्याच“ बन्न सफल खेलाडीहरुलाई गण्डकी विश्वविद्यालयका कानून तथा व्यवस्थापन संकायका डीन प्रा.हिमराज गिरी र वि.ए.एल.एल.बी.कार्यक्रमका संयोजक अधिवक्ता रवि कुमार सिलवालले ट्रफी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने भोली आइतबार हुने आयोजक गण्डकी विश्वविद्यालयले जनाएको छ ।
