
पोखरा, संधै अतिथी प्यारापिटमा बसेर फुटबल खेलको मज्जा लिने सहारा युकेको टोली र पोखराको स्थानिय तर खेलकुदको क्षेत्रमा विशिष्ट पहिचान बनाएको बगर भाइखलकको टोली आज पोखरा रंगशालामा आफै भिडेका छन ।
१८ औं आहा रारा गोल्ड कपको सन्दर्भलाई लिएर पोखरा आएको सहारा युकेको टोलीले आज पोखरा बगर भाइ खलक संग मैत्रीपुर्ण फुटबल म्याच खेलेको हो । सम्पन्न मैत्रीपुर्ण म्याचमा बगर भाई खलक हावी हुन पुग्यो । बगर भाइ खलक सहारा युके विरुद्ध ८–७ गोल अन्तरले बिजयी भयो ।

दुई संस्था विच आपसी समझदारी बढाउँदै खेलकुदको माध्यम बाट सम्बन्धलाई कसिलो बनाउन मैत्रीपुर्ण म्याच खेलिएको सहारा युकेका अध्यक्ष कुमार गुरुङले बताए । “हामी एउटा सन्दर्भलाई लिएर पोखरामा छौं, हाम्रो उद्धेश्य आहा रारा गोल्ड कप सफल बनाउने हो” उनले भने–“त्यो संगै पोखरा रंगशालाको अहिलेको वातावरण हेर्ने हो भने जो कोहीलाई पनि मैदान छिरौं छिरौं खेलौं खेलौं हुन्छ ।”
पोखरा रंगशालामा पाका खेलाडी संगै बगर भाइखलको नेतृत्व गर्ने अध्यक्ष दिल बहादुर गुरुङ, उपाध्यक्ष तेज गुरुङ, पूर्व राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठ, चन्द्र गुरुङ, राम गुरुङ लगाएत मैदान छिरेका थिए । यता सहारा युकेका तर्फ बाट अध्यक्ष गुरुङ सहित महासचिब धनु थकाली, एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, सल्लाहाकार चन्द्र गुरुङ लगाएतको टोली मैत्रीपूर्ण म्याचमा मैदान उत्रिएको थियो ।
