भोलीदेखि साग ह्याण्बल शुरु हुने, ‘मेडल टच’ नेपालको सपना, पहिलो पटक होम ग्राउण्डमा म्याटमा खेल्दै

पोखरा, घरेलु भूमीमा हुन गइरहेको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद अन्तर्गत भोली (बुधबार) देखि महिला, पुरुष दुबैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । यद्यपी, ह्याण्डबलको दुबैतर्फको खेल पोखराको स्पोर्ट्स् भेन्यूमा हुँदैछ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलभित्र हुने ह्याण्डबल खेलका लागि ग्राउण्डलाई तयारी अवस्थामा राखिएको छ । ह्याण्डबल मैदानमा म्याटहरु ओछ्याइएको छ । ह्याण्डबल खेलका आबश्यक संपूर्ण तयारी पूरा गरिएको छ । नेपाल ह्याण्डबल संघको स्थापनाको करिब ३३ वर्ष पछि नेपाली खेलाडीले आफ्नै होम ग्राउण्डमा पहिलो पटक म्याटमा खेल्दैछन ।

यस पटकको साग ह्याण्डबलमा महिला पुरुष दुबैतर्फ आयोजक राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ६ राष्ट्रले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

साग अन्तर्गत नेपालले पाकिस्तानसँग पुरुष ह्याण्डबलको आफ्नो पहिलो उद्घाटन खेल खेल्नेछ । पुरुष ह्याण्डबलमा घरेलु नेपालको समूह ‘बी’ मा परेको छ समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान र श्रीलंका रहेको छ । त्यस्तै, समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स रहेको छ ।

साग अन्तर्गत महिला ह्याण्डबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो उद्घाटन खेल खेल्नेछ । महिला ह्याण्डबलमा पनि नेपाल समूह ‘बी’ मा परेको छ । समूह‘बी’ मा नेपाल लगायत बंगलादेश र श्रीलंका रहेको छ । त्यस्तै, समूह ‘ए’ को महिला ह्याण्डबलमा भारत, पाकस्तान र माल्दिभ्स रहेको छ ।

आयोजक राष्ट्र नेपालको दुबै ह्याण्डबल टोली प्रतिस्पर्धाका लागि तयार बनेको छ । नियमित घरेलु र वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली मानशिक, शारिरीक र रणनीतिक हिसावले प्रतिस्पर्धी टिमलाई कडा टक्कर दिन नेपाली टिम तयार रहेको पुरुष ह्याण्डबल मुख्य प्रशिक्षक अरुणलाल कर्णले बताए ।

‘दुबै स्पर्धामा हाम्रो लक्ष्य भनेको गोल्ड मेल नै हो, कम्तिमा पनि हामी मेडल टच गर्छौ,’ प्रशिक्षक कर्णले भने, ‘नेपाली ह्याण्डबलको दुबै टोली ४/५ महिना यतादेखि देश, विदेशमा नियमित प्रशिक्षणमा छन् । उनीहरुलाई देशी, विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण गराइएको छ । टिमलाई होम ग्राउण्डको सपोर्ट पुग्नेछ । खेलाडीहरुले घरेलु दर्शकहरुको साथ र माया पाउनेछन् । मानसिक रुपले खेलाडीहरुको उच्च मनोबल छ । शारिरीक रुपले टिमका खेलाडीहरु फिट छन् ।’

तुलनात्मक रुपले नेपाल भन्दा भारत र पाकिस्तान बलियो टिम भएपनि नेपालको दुबै टिमले स्वर्ण पदकको आशा राखेको महिला ह्याण्डबलकी प्रशिक्षक बिन्दा थापा बताउँछिन् । थापा भन्छिन् ‘दुबै स्पर्धामा नेपाली टिमले विपक्षीसँग टोटल गेम खेल्नेछन् ।’

नेपालको महिला, पुरुष दुबै ह्याण्डबल टिम साउनदेखि निरन्तर बन्द प्रशिक्षणमा छन् । साग गेम अन्तर्गतको ह्याण्डबल पोखरामै हुने भएकोले पनि दुबै टोली त्यस समयदेखि पोखरामै रहेर प्रशिक्षणमा छन् ।

पुरुष ह्याण्डबल टोलीले भारतको चण्डीगढमा करिब १० दिनको बैदेशिक प्रशिक्षण लिएको थियो । टोलीले त्यहाँको म्याट ओछ्याइएको ह्याण्डबल मैदानमा प्रशिक्षण लिएको प्रशिक्षक कर्णले बताए । त्यतिमात्र होइन नेपाली पुरुष ह्याण्डबल टोलीले त्यहाँको जिल्लास्तरिय, जुनियर र युनिभर्सिटीको टिमसँग ७ वटा मैत्रीपूर्ण खेल समेत खेलेको थियो । जसमा ६ खेलमा नेपालले जित र १ बराबरी खेलेको थियो ।

त्यस्तै, महिलातर्फको ह्याण्डबल टोलीले पनि १० दिनसम्म थाइल्याण्डमा वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेको थियो । महिला टोलीले थाइल्याण्डमा त्यहाँको राष्ट्रिय टिम र युनिभर्सिटीको टिमहरुसँग खेलेको मैत्रीपूर्ण खेलहरुमध्ये औषतमा हारजित बराबर रहेको प्रशिक्षक बिन्दा थापाले बताइन् ।

यसअघिको साग संस्करणहरुमध्ये ११ औं सागबाट नेपालको पुरुष टिम र १२ औं सागबाट नेपाली महिला ह्याण्डबल टोलीले सहभागिता जनाएको थियो । १२ औं संस्करणको सागको ह्याण्डबलमा दुबै टोली सेमिफाइनलमा पराजित हुँदै पदक विहीन बनेको थियो ।

१२ औं सागको सेमिफाइनलमा नेपालको पुरुष टिम भारतसँग पराजित बनेको थियो । तेस्रो स्थानको लागि नेपाल बंगलादेशसँग हारेको थियो । त्यस्तै, १२ औं संस्करणकै साग गेमको सेमिफाइनलमा नेपाली महिला टोली बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो ।

बिशाल बस्नेतको कप्तानीमा नेपालको राष्ट्रिय पुरुष ह्याण्डबल टोली प्रतिस्पर्धामा उत्रनेछ । बिशाल भारतको गुहावटीमा भएको १२ औं संस्करणको साग अन्तर्गतको ह्याण्डबल खेलेको खेलाडी समेत हुन् । टोलीको उपकप्तानमा श्रीबहादुर सिंजाली छन् ।

नेपालको राष्ट्रिय ह्याण्डबल टोलीमा किपरहरु बिशाल नेपाली र ईन्द्रनारायण चौधरी छन् । अन्य खेलाडीहरुमा मदन चुनारा, यामबहादुर पुन, दिनेश श्रेष्ठ, आशिष अधिकारी, दिपकसिंह बोहरा, सन्तोष श्रेष्ठ, शरण थापा, सन्दीप कार्की, रणसिंह साउद, हेमन्त थापा, केशव बिष्ट र सरोज सिंह छन् । पुरुष ह्याण्डबलको मुख्य प्रशिक्षकमा अरुणलाल कर्ण, सहायक प्रशिक्षकमा टेकबहादुर बिश्वकर्मा छन् । ब्यवस्थापकमा जीवन बस्नेत छन् ।

नेपालको महिला तथा पुरुष दुबैतर्फका राष्ट्रिय ह्याण्डबल टोलीका लागि साउनको १६ गतेदेखि २८ जना, भदौमा २२ जना र असोजको अन्तिममा १६ जना खेलाडीको अन्तिम छनोट गरिएको हो ।

त्यस्तै, कप्तान रञ्जना राईले नेपालको राष्ट्रिय महिला ह्याण्डबल टोली प्रतिस्पर्धामा उत्रनेछ । महिला ह्याण्डबल टोलीको अन्य खेलाडीहरुमा निषा राई, रामकुमारी चौधरी, कविता राई, दुर्गा बोहरा, शान्तिकला राई, देबकुमारी बास्कोटा, बबिता श्रेष्ठ, शारदा बि.क., अर्चना न्यौपाने, कल्पना ओली, उमा राई, बन्दना राई, संगीता चौधरी, आइताल्हामु शेर्पा र जिनमाया थापा छन् ।

नेपालको महिला राष्ट्रिय ह्याण्डबल टोलीको मुख्य प्रशिक्षकमा विदेश जोआ फ्लोरेन्सियो छन् । जोआ पोर्चुगलबाट नेपाली ह्याण्डबल टोलीलाई प्रशिक्षण दिन यहाँ आएका हुन् । प्रशिक्षकमा बिन्दा थापा र कृष्ण शाक्य छन् । ब्यवस्थापकमा शान्ति थापा बैद्य छन् ।

ह्याण्डबल टोलीको पुरुषतर्फ विभागीय आर्मीको ३, एपीएफको ४, पोखराबाट ५, काठमाण्डौंबाट १, प्रदेश ५ बाट १, सुदुरपश्चिमबाट १ र कर्णाली प्रदेशबाट १ खेलाडी छन् । त्यस्तै, महिलातर्फको नेपाली राष्ट्रिय ह्याण्डबल टोलीमा आर्मीबाट ९, एपीएफबाट ४, पूर्वाञ्चलबाट २ र पोखराबाट १ जना छन् ।

काठमाण्डौं, केन्द्रदेखि बाहिर पोखरा र उदयपुरलाई ह्याण्डबल खेलको उर्बरभूमी मानिन्छ । प्रारम्भमा पोखरा र उदयपुरबाट उदाएका ह्याण्डबलका उदीयमान खेलाडीहरु हाल राष्ट्रिय टिम तथा विभागीय क्लबहरुमा अब्बल दर्जाका खेलाडीका रुपमा छाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close