
केशब पाठक,
पोखरा,
नेपाल ओलोम्पिक कमिटी (एनओसी)का महासचिब निलेन्द्रराज श्रेष्ठले अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट नेपाल पछि हट्न नसक्ने बताएका छन ।
यहि मंसिर १५ देखि २४ सम्म नेपालमा आयोजना हुने साग खेलकुदको एनओसीको भूमिकाका बारेमा कुरा गर्दै महासचिब श्रेष्ठले एनओसीले आफ्ना सबै तयारीहरु पूर्ववत रुपमा अगाडी बढाइसकेको बताउँदै भने–‘एनओसीले आफ्नो तयारी पुरा गर्दैछ ।’

दक्षिण एसियाली राष्ट्रहरुको खेलकुदको महाकुम्भ सागको तयारी बारे कुरा गर्दै महासचिब श्रेष्ठले सबै राष्ट्रहरुको ‘वाई नम्बर एन्ट्री’ अर्थात कुन देशले कुन खेलमा सहभागिता जनाउने हो त्यसका लागि जानकारीका दिन पत्राचार गरिसकिएको बताए । यसका लागि असोज २३ गते सम्मका लागि अन्तिम म्याद तोकिएको जानकारी दिदैं भने–‘अब एक सातामा सबै देशले आ–आफ्नो खेल र खेलाडीको संंख्या निश्चित गरिसक्नेछन ।’
साग खेललाई गतिदिन साउथ एसिया ओलोम्पिक काउन्सिलको बैठक आगामी कार्तिक २४ गते देखि २६ गते सम्म काठमाडौमा बस्ने भएको महासचिब श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘सेफ दि मिसन’को बैठक कार्तिक १९ देखि २० गते सम्म काठमाडौमा हुनेछ । नेपाल आउने साउथ एसिया ओलोम्पिक काउन्सिल र सेफ दि मिसनका पदाधिकारीले काठमाडौ र पोखराको साग खेलकुद आयोजना स्थलको समेत प्रत्यक्ष रुपमा अवलोकन गर्ने भएका छन ।
साउथ एसिया ओलोम्पिक काउन्सिल र सेफ दि मिसनका पदाधिकारीहरु संग साग तयारी बारे घनिभूत छलफल हुने जानकारी दिंदै महासचिब श्रेष्ठले नेपालको आयोजनाको सबै व्रिफिङ समेत उनीहरुलाई गरिने भएको बताए । ‘हामी आयोजकका नाताले उनीहरुलाई नेपालको तयारी बारे सबै जानकारी दिन्छौ’, उनले प्रष्टयाउँदै भने–‘त्यसकारणले पनि अब नेपाल कुनै हालतमा पछि हट्न सक्दैन, अब हामीले सागको भब्य तयारी बारे आफ्ना कामहरुलाई परिचालित गर्नुपर्छ ।’
साग आयोजनाका लागि विभिन्न समितीहरु गठन भइसकेकोले ति समितीहरुले आ–आफ्नो जिम्मेवारीलाई अगाडी बढ्ने बेला भइसकेको बताउँदै महासचिब श्रेष्ठले साग आयोजनाका लागि आइपर्ने समस्याका बारेमा एनओसीले के गर्ने भन्ने बारे समेत आफ्नो कामहरु त्यही ढङ बाट सुचारु गरिने बताए ।
सागमा हुने २८ खेल मध्ये प्याराग्लाइडिङ सहभागिताका लागि सबै देशहरुलाई पत्राचार गरिने र आवश्यक परेमा उनीहरुलाई प्याराग्लाइडिङ प्रशिक्षक समेत उपलव्ध गराउने बताए ।
