
पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले तेस्रो संस्करणको “पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता” मा प्रविधिक सहयोग गर्ने भएको छ ।
हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा यहि कार्तिक २४ गते पोखरामा आयोजना हुने उक्त क्रस–कन्ट्री दौडमा मञ्चले प्राविधिक सहयोगलाई निरतर रुपमा तेस्रो संस्करण सम्म जारी राखेको हो । मञ्चले प्राविधिक सहयोग कार्यलाई अघि बढाउन प्रथम उपाध्यक्ष खेम बहादुर गुरुङलाई जिम्मेवारी समेत दिएको छ । जसमा कोषाध्यक्ष हरि बरुवाल, कार्यसमिति सदस्य विश्व तण्डुकार, ओम गुरुङ, इन्द्रा मल्ल, श्याम श्रेष्ठ सदस्य रहेका छन् ।
आयोजक हिमालयन टुरिजम फोरमले नेपाली पक्षबाट गरिने प्राविधिक पक्षको जिम्मेवारी पाए संगै मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले खुसी व्यक्त गर्दै प्रतियोगितालाई भव्य एवं सफलताका साथ सम्पन्न गर्न भूमिका खेल्ने बताए । उनले भने–“यो हाम्रो लागि महत्वपूर्ण अवसर हो । यद्यपी हामीले गत दुई सस्करणमा समेत प्राविधिक सहयोग गरेका थियौं । पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गर्न यो प्रतियोगिता समेत उत्तिकै प्रभावकारी हुनेछ ।”
मञ्चले क्रस कन्ट्रि दौड सम्पन्न गर्न ४० जना प्राविधिकहरु परिचालन गर्ने भएको छ । नेपाली र चिनियाँ प्राविधकहरु मिलेर प्रतियोगितालाई सफल बनाउने विश्वास मञ्चले लिएको छ ।
हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्व शंकर पालिखेले नेपाल र चिन बीचको मैत्रीपूर्ण सम्वन्धलाई अझै बलियो बनाउन “पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता” महत्वपूर्ण रहेको बताए । “साझा समृद्धिका लागि दौड” भन्ने उदघोषका साथ प्रतियोगिताको तयारी सुरु भएको जनाउँदै उनले खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनेमा प्रतियोगिताले भूमिका खेल्ने उनको भनाई थियो ।
दौडमा नेपाल र चीनका धावकहरूको उत्साहजनक सहभागिता रहने बताउँदै अध्यक्ष पालिखेले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताले पनि खेलाडीहरुलाई आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न महत्वपूर्ण हुने उनले बताए । “हामीले यो प्रतियोगितालाई ब्राण्डको रुपमा अघि सारेका छौं । यसले दुई देश बीचको सम्बन्धलाई बलियो बनाउने मात्रै छैन । पोखरा हर मौसम खेलकुदका लागि तयार छ भन्ने सन्देश दिने छ,” उनले भने,“यो संगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै मित्रराष्ट्र भारत र चिनलगायत देशका शहरहरुबाट पर्यटक यहाँ आउन सकुन भन्ने अर्को महत्वपूर्ण उद्धेश्य समेत हो ।”
अध्यक्ष पालिखेका अनुसार चिनियाँ खेलाडीहरु सोझै चार्टर विमानद्वारा कार्तिक २२ गते पोखरा आइपुग्ने कार्यक्रम तय भएको छ । १ सय ३४ जना खेलाडी र अफिसियल सहितको टोलीमा चिनस्थित कुनान प्रान्तका खेलकुद विभाग प्रमुख समेत पोखरा आउनेछन् ।
प्रतियोगितामा ५० किलोमिटर लामो ट्रेल दौड, साइकलिङ र रोइङजस्ता प्रतिस्पर्धाहरु समावेश प्रतियोगितामा नेपाली खेलाडीलाई निःशुल्क दर्ता गरिने आयोजकले जनाएको छ ।
कुन दौडमा कति पुरस्कार ?
टिम समूह दौड : ३० मिश्रित टोलीहरू सहभागिता जनाउने छन् । जसमा २० नेपाली र १० चिनियाँ टोलीहरू समावेश हुनेछन् । उनीहरुले ५० किलोमिटर ट्रेल दौड, साइकलिङ, र रोइङको प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख ९२ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।
च्यालेन्ज इन्डिभिजुअल ग्रुप (महिला/पुरुष) : (१ सय २० नेपाली र ८० जना चिनियाँ) दुई सयजना खेलाडीहरूको सहभागिता हुने छ । उनीहरुले ५० किलोमिटरको ट्रेल दौडमा सहभागि हुनेछन् । प्रतियोगितामा बिजेता हुने पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौं सम्मका बिजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौं देखि दशौं सम्मका बिजेताले नगद रु १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।
छात्र/छात्रा दौड : पोखराका ५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । उक्त दौड २ किमिको हुने छ । बिजेता खेलाडीहरुले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौं सम्मका बिजेताहरुले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
ह्यापी रन : मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ ।
नागरिकहरूलाई साझा समृद्धिको लागि प्रेरित गर्दै खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, र पोखरा महानगरपालिकाको आयोजनामा हुनेछ।
