
केशब पाठक,
पोखरा, २१ बैशाख । कास्की जिल्ला आर्चरी संघको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले पोखरामा आसन्न १३ औं दक्षिण एशियाली खेलकुद र आगामी वर्ष २०७६ फागुनमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ ।
पोखरा रंगशालामा आर्चरी खेल मैदानलाई व्यवस्थित गर्न यस अघि राष्ट्रिय खेलकुद परिषदले ५० लाख खर्च गरिसकेको छ भने मैदान संरक्षणका लागि ३० लाख खर्च गरेर तार जाली समेत लगाइएको छ । आर्चरी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चेन्जिङ रुम र शौचालयका लागि थप १० लाख विनियोजित गरेको छ । तर पनि आधुनिक आर्चरी खेल मैदानका लागि थप ७५ लाख खर्च हुने संघले जनाएको छ । यसका लागि परिषद संग माग गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

१० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै राखेप बोर्ड सदस्य राजेश गुरुङले आर्चरी हाम्रो देशको पराम्परागत खेल भए पनि देश चिनाउन आर्चरीले अहम भूमिका खेलेको बताउँदै भने–‘अब देश चिनाउने माध्यम नै खेल र खेलाडी हुन र उनीहरुलाई माथी उठाउने काम गर्नुपर्छ ।’ उनले नयाँ खेलाडी उत्पादनमा जोड दिनुपर्ने वताउँदै विद्यार्थीहरुलाई निशुल्क प्रशिक्षणको व्यवस्था गर्न आर्चरी संघलाई आग्रह गरे ।
पोखरा रंगशालालाई वातावरणमैत्री बनाउन हरियाली बढाउन आफूले सक्दो पहल गर्ने बताउँदै राखेप सदस्य गुरुङले खेलाडीले अवेर सम्म प्रशिक्षण गर्न पाउनका लागि पोखरा महानगरको सहयोगमा मैदान भित्र सोलार बत्तिको समेत व्यवस्था गरिने बताए । उनले पोखरामा आयोजना हुने आर्चरीका गतिविधीका लागि आफ्नो व्यक्तिगत तर्फ बाट १ लाख सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा आठौं राष्ट्रिय खेलकुदमा आर्चरी अन्तरगत पदक बिजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल आचरी संघका उपाध्यक्ष बसन्त थकाली, संघका संस्थापक अध्यक्ष हरि ध्वज तुलाचन, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष एकराज गिरी लगाएतले शुभकामना दिएका थिए ।
साधारण सभा सचिब देव पुन र अन्नपूर्ण आर्चरी क्लबका सचिब सञ्जिव मान तुलाचनले दुई छुट्टा–छुट्टै वार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कास्की जिल्ला आर्चरी संघ तथा अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले क्लबमा अक्षयकोष स्थापनाका लागि १ लाख नगद दिने घोषणा गरेका छन । त्यसै गरि कार्यसमिती सदस्य चित्रा रोक्का मगर ८ हजार बराबरको १० थान कुर्ची र जुम भट्टचनले ५ हजार बराबरको एक थान टेबुल प्रदान गरेका छन ।
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत गण्डकी प्रदेश बाट सहभागि खेलाडीले ५ स्वर्ण, ४ रजत र ३ काश्य पदक जितेका थिए । गण्डकी प्रदेश टिम च्याम्पियन भए पनि परिषदले आर्चरी तर्फको मेडलको भने गणना गरेको थिएन ।
