
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले अन्तर्राष्ट्रिय पोखरा म्याराथनका लागि दिंदै आएको बजेट घटाएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशकै गौरवको खेलकुद कार्यक्रमको रुपमा आत्मसात गर्दै आएको पोखरा म्याराथनको वजेट आर्थिक वर्ष २०७८/०७९ का लागि ५० प्रतिशतले घटाएको हो । पोखरा म्याराथनको आयोजक नेपाली खेलाडीहरुको आयोजक संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको म्याराथनलाई पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकारले निरन्तर रुपमा वार्षिक १० लाख रुपैयाँ विनियोजन गर्दै आएको थियो । तर प्रदेश सरकारले भने यो वर्ष ५ लाखमा झारेको छ ।
मञ्चले प्रदेश खेलकुद परिषद मार्फत पोखरा म्याराथनका लागि कम्तिमा २० लाख विनियोजन गर्न सरकारलाई आग्रह गर्दै प्रस्ताव पठाएको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले यसबारे प्रदेश सरकारका मुख्य मन्त्री र यूवा तथा खेलकुद मन्त्री संग भेटघाट गरी पोखरा म्याराथनको गरिमालाई माथी उठाउन प्रदेश सरकारको भूमिकाका विषयमा भेटेर नै छलफल गर्ने बताए । उनले भने–“हामीले प्रस्ताव गरे अनुसार नै हुन्छ भन्ने त होइन तर दिंदै आएको बजेटमा कटौती गर्नु पक्कै अग्रज खेलाडीहरुको मनोवल उठ्न सक्दैन र आयोजकलाई हत्सोसाहित पार्नु पनि हुँदैन ।”
पोखरा म्याराथनका लागि पोखरा महानगरले आर्थिक वर्ष २०७८–०७९ का लागि १० लाख संघिय सरकारको यूवा तथा खेलकुद मन्त्रालयले ५ लाख रुपैयाँ वार्षिक कार्यक्रम अन्तरगत नै निरन्तरता दिएका छन ।
यसै गरी सहारा क्लव पोखराले आयोजनाले गर्दै आहा ! रारा गोल्डकपका लागि प्रदेश सरकारले ५ लाख विनियोजन गरेको छ ।
