
पोखरा, ७ वैशाख । गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेश गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा स्थान बनाएको हो ।
नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिला तर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेश माथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल बर्षाएको थियो । लिगको तेश्रो खेलमा दिप्ती गुरुङले डवल ह्याट्रिक पुरा गरिन् । गण्डकी प्रदेशले लिगको अन्तिम खेल त्रिभुवन आर्मीसंग आइतबार खेल्ने भएको प्रशिक्षक बिष्णु गुरुङले बताए । आइतबारको खेलमा जितेमा समुह विजेता हँुदै र पराजित भएमा समुह उपविजेता हुदै गण्डकी प्रदेश अन्तिम चारमा यात्रा बनाउने भएको हो ।

त्यसै गरी नेपालगन्जको रंगशाला परिसरमा शनिबार भएको पुरुष तर्फको खेलमा त्रिभुवन आर्मीलाई गण्डकी प्रदेशले २१ का बिरुद्ध २४ गोल गरी अन्तिम चारमा स्थान पक्का गरेको हो । गण्डकीको जितमा सन्तोष श्रेष्ठले सर्वाधिक ११ गोलको योगदान दिए । गण्डकीका गोलरक्षक बिशाल नेपालीले पटक पटक आर्मीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।
लिगको अन्तिम खेल गण्डकी प्रदेशले आइतबार प्रदेश नम्बर ५ संग प्रतिष्प्रर्धा गर्ने भएको प्रशिक्षक भिमशेन शाक्यले बताए । उक्त टिमलाई जितेमा समुह विजेता हुदै सेमिफाईनलमा प्रबेश गर्छ भने पराजित भएमा समुह उपविजेता हुदै सेमिफाईनलमा प्रबेश गर्नेछ ।
शनिबार भएको लिग चरणको पहिलो खेलमा प्रदेश नम्बर ५ ले हेमन्त थापाको ६ गोलको मद्धतले कर्णाली प्रदेशलाई २२–१८ को गोल अन्तरले पराजित गरेको हो । कर्णालीका केशव विष्टले ७ गोल गरे । उनले यस अघिका खेलमा पनि न्यूनतम ५ गोल भन्दा माथि गर्दै आएकाछन् ।
यसैबीच, पुरुष तर्फ भएको तेस्रो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले प्रदेश नं १ लाई २६–१० गोलले हरायो । एपीएफका लोकेन्द्र चन्द र रणसिंह साउदले सर्वाधिक ६ गोलको बराबरी योगदान गरे ।
चौथो खेलमा प्रदेश नं ३ ले प्रदेश नं २ लाई ३६–१४ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा प्रदेश नं ३ का आशिष अधिकारीले सर्वाधिक १३ गोल गरे । शुक्रबार स्थगित प्रदेश नं ५ र प्रदेश नं ७ बीचको खेल १४–१४ मा टुंगियो ।
यता, महिलातर्फको ह्याण्डबलमा शनिबार भएको पहिलो खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ४४–७ को फराकिलो गोल अन्तरले हरायो । आर्मीकी शान्तिकला राईले सर्वाधिक ९ गोल गरिन् ।
शनिबार नै भएको महिलातर्फको दोस्रो खेलमा प्रदेश नं ३ ले प्रदेश कर्णाली प्रदेशलाई ८–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं ३ की निरुता बुढाथोकी मगरले सर्वाधिक २ गोल गरिन् ।
त्यस्तै, तेस्रो खेलमा प्रदेश नं १ ले प्रदेश नं २ लाई २२–५ गोलले हरायो । उक्त खेलमा प्रदेश नं १ की निशा राईले सर्वाधिक १३ गोल गरिन् । चौथो खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रदेश नं ७ लाई ३५–१ को फराकिलो गोल अन्तरले हरायो । उक्त खेलमा एपीएफकी उमा राइले सर्वाधिक १० गोल गरिन् ।
