
पोखरा, ४ बैशाख । बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा प्रदेश ५ र एपीएफ विजयी भएका छन् ।
पहिलो खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको हो । खेलमा अग्रता भने गण्डकीले लिएको थियो । गण्डकीका टीकाराज गुरुङले २६ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ३६ मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेशले तीन अंक जोड्यो ।
एपीएफले प्रदेश १ लाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामाले १९ र २८ मिनेट, प्रदीप लामाले ३९ र ५८ मिनेट, बुद्धिमान राईले ५२ मिनेट र सन्तोष श्रेष्ठले ७५ मिनेटमा गोल गरेका थिए ।
प्रदेश १ बाट ४ मिनेटमा टिप्सन राई, ६९ मिनेटमा राम तामाङ र ७९ मिनेटमा विदुर रिजालले गोल गरेका थिए ।
