वर्ल्ड र्‍याङ्किङ टेनिस टुर : सिंगल्समा सलोनीलाई उपाधी (फोटो फिचर फाइनल)

पोखरा स्पोर्टस । नेपालकी सलोनी तामाङ पोखरामा जारी गर्ल्स/ब्वाइज ‘यू–१८ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५’ अन्तर्गत सिंगल्सतर्फ उपाधी जितेकी छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा जुनियरतर्फ नेपालकी दोश्रो वरियताका खेलाडी सलोनीले भारतकी हाना नागपाललाई पराजित गर्दै उपाधी जितेकी हुन् । पहिलो सेट ७–५ ले जितेकी सलोनीले दोश्रो सेटमा भारतिय खेलाडी हानालाई कुनै अंकनै जोड्न दिइनन् । उनले दोश्रो सेट ६–० ले जित्दै उपाधी हात पारिन् ।

यता सिंगल्सतर्फ ब्वाइजमा स्विडेनका इमिलियो जियोलेस्कीले भारतका दक्ष प्रसादलाई संघर्षपूर्ण खेलमा जित्दै उपाधी आफ्नो हातमा पारे । निकै रोमाञ्चकपूर्ण खेलमा पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोश्रो सेटमा दक्षले ५–७ ले आफ्नो पक्षमा पार्न सफल भए । टाइ व्रेकरको आधारमा भएको नतिजामा इमिलियोले अन्तिम सेट ७–६ (३)ले जित्दै उपाधी आफ्नो नाममा पार्न सफल भए ।

गर्ल्स डब्ल्समा अभिलाषा र सलोनीलाई उपाधी
यता गर्ल्स डवल्सतर्फ नेपाली जोडी अभिलाषा विष्ट र सलोनी तामाङको जोडीले नेपाली खेलाडी जोडी इशा श्री शाह र शर्भानी श्रेष्ठलाई पराजित गर्दै उपाधी जितेका छन् । सुपरटाईको रोमाञ्चकपूर्ण खेलमा ६–१, ४–६, १०–७ ले आफ्नो पक्षमा पार्दै अभिलाषा र सलोनीको जोडीले डब्ल्सको उपाधीमा आफ्नो नाम लेखाए ।

यता ब्वाइजतर्फको अमेरिकी खेलाडी शिद्धार्थ लामा र मेथ्री ब्यारोटको जोडीले भारतका कविर चावरिया र दक्ष प्रसादको जोडीलाई सुपरटाईमा ६–१, ४–६, १०–७ अंकले पराजित गर्दै उपाधी जिते ।

प्रतियोगितामा विजेता खेलाडीलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष लोक गुरुङ, निवर्तमान अध्यक्ष दोर्जे लामा, सल्लहाकार द्वय सूर्य भुजेल, बसन्त प्रधान लगायतले मेडल प्रदान गरेका थिए ।

पोखरामा जारी गर्ल्स/ब्वाइज ‘यू–१८ वर्ल्ड र्‍याङ्किङ टेनिस टुर जे–५’ पहिलो चरणको प्रतियोगिता यहि नोभेम्वर ३० तारिख बाट शुरु भएको थियो । आयोजक संस्थाका सचिव नविन श्रेष्ठका अनुसार दोश्रो चरण दिसेम्वर ६ तारिख देखि शुरु हुनेछ । उक्त प्रतियोगिता अन्तर्गत क्वालिफाइङ राउण्डका खेलहरु जारी रहेका छन् । प्रतियोगितामा पहिलो चरण नेपाल सहित १० देशका ८९ खेलाडी सहभागी रहेका थिए । जसमा २६ नेपाली खेलाडी सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close