
काठमाडौं, १ चैत ।
सशस्त्र प्रहरी बल, नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही चैत्र १० गतेबाट ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ संचालन हुने भएको छ ।
सो समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा उक्त प्रतियोगिताबारे खेलकुद पत्रकारहरुलाई विस्तृत रुपमा जानकारी गराए ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले नेपाल एपीएफ क्लब मार्फत राष्ट्रको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आईरहेको उल्लेख गरे ।
उहाँले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षाको नियमित कार्यसँगै राष्ट्रिय स्तरका यी तीनवटै प्रतियोगिताहरुलाई विगत लामो समयदेखि निरन्तर रुपमा संचालन गरि समग्र खेलकुद क्षेत्रको विकासका लागि निरन्तर कृयाशिल रहदै आईरहेको बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले नेपाल एपीएफ क्लवले स्थापना कालदेखि हालसम्म राष्ट्रिय स्तरमा सात सय १९ स्वर्ण पदकसहित कुल एक हजार आठ सय ८४ पदक तथा अन्तर्राष्ट्रिय स्तरमा ४२ स्वर्ण पदकसहित कुल ९९ पदक गरी एक हजार नौ सय ८३ पदक प्राप्त गर्न सफल भएको बताए ।
उहाँले क्लवका खेलाडीहरुले फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन, लनटेनिस, बक्सिङ्ग, कराते, तेक्वान्दो, एथ्लेटिक्स, ह्याण्डबल लगायतका २४ वटा खेल विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाउँदै आईरहेको बताए ।
सम्बन्धित खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम अनुसार संचालन हुने उक्त तीनवटै राष्ट्रिय प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताए ।
नौवटा इभेन्ट्स समावेश रहेको व्याडमिन्टन प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख १० हजार रुपैयाँ रहेको छ भने १३ वटा इभेन्ट्स समावेश लनटेनिस प्रतियोगिताको कूल पुरस्कार राशी ५ लाख ९५ हजार रुपैयाँ रहेको कुरा सो अवसरमा उहाँले जानकारी दिए ।
कुल ४ लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार तथा दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुरा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताए ।
व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने कुरा उहाँले जानकारी गराए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको बताए । यसैगरी उहाँले महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २५ हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको जानकारी गराए ।
यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने महिला एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले दिए ।
लनटेनिसतर्फ पुरुष युगलमा प्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १०÷१० हजार रुपैयाँ रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार ४० हजार रुपैयाँ, द्वितिय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १०÷१० हजार रुपैयाँ रहेको छ ।
व्याडमिन्टन प्रतियोगितामा समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १७ वर्षमुनिका केटा÷केटी एकल, ४५ र ५५ वर्ष माथि भेट्रान्स युगल, मिक्स डबल्स र इन्टर गभर्मेन्टल सर्भिसतर्फ ३५ वर्षमाथि मास्टर युगल रहेका छन् ।
यसैगरी लनटेनिसतर्फ समावेश इभेन्ट्सहरुमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ३५, ४५ र ५५ वर्षमाथि भेट्रान्स एकल र भेट्रान्स युगल तथा ६५ वर्षमाथि भेट्रान्स एकल तथा इन्टर गभर्मेन्टल सर्भिसतर्फ मास्टर एकल र मास्टर युगल इभेन्ट्सहरु समावेश रहेका छन् ।
सो अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई चार वटा भलिबल प्रदान गरे ।
