
पोखरा स्पोर्टस । राष्ट्रिय खेकलुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङले सितेरियो करातेका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री जस बहादुर पुनलाई आर्थिक सहयोग गरेका छन ।

उपचारका लागि चितवन स्थित क्यान्सर अस्पतालमा रहेका प्रशिक्षक पुनलाई अस्पतालमा नै पुगेर राखेप सदस्य गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट सहयोग हस्तान्तरण गरेका हुन । राखेप सदस्य गुरुङले प्रशिक्षक पुनको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नगद १० हजार प्रदान गरेका छन । यसै गरी पोखरा लालिगुरास टोल निवासी समाजसेवी भरत बरालले पुनको उपचारको लागि नगद ५ हजार सहयोग गरेका छन ।
नवलपुरमा रहेर सितेरियो करातेको विकासमा खटिएका प्रशिक्षक तथा राष्ट्रिय रेफ्री पुनलाई काठमाण्डौबाट समेत सहयोग हस्तान्तरण गरिएको नवलपुर जिल्ला खेलकुदमा कार्यरत प्रशिक्षक विष्णुलाल श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । प्रशिक्षक श्रेष्ठका अनुसार काठमाडौंका कराते प्रशिक्षक, रेफ्रि र खेलाडीहरुबाट १ लाख ६३ हजार ५ सय र इलाम जिल्लाबाट ३६ हजार ५ सय गरी २ लाख रुपैयाँ बिहिवार हस्तान्तरण गरिएको बताए ।
राखेप सदस्य गुरुङले आज नै गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णु कुमारी कंडेल संग भेट गरेका थिए । यसै गरी उनले गण्डकी प्रदेश सरकारले गैडाकोट नगरपालिका निर्माण गर्न लागेको विपी खेल ग्रामको निर्माणधिन स्थलको समेत अवलोकन गरी जानकारी लिएका थिए । प्रदेश सरकारले नवलपुरमा ३ करोड खर्च गरी विपी खेल ग्राम निर्माण गर्न लागेको छ ।
