
पोखरा स्पोर्टस । विभिन्न संस्थागत विद्यालयहरुका छाता संस्थाहरुले पोखरा म्याराथन अन्तर्गत आगामी चैत्र १२ गते शनिबार पोखरामा आयोजना हुने दौड प्रतियोगितालाई सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चले मंगालबार पोखरामा आयोजना गरेको भेटघाटमा उनीहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा आफ्ना भनाई राख्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीका अध्यक्ष यम बहादुर रोक्काले पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको भूमिकाको प्रशंसा गर्दै खेलकुदलाई व्यवस्थित र व्यपकता बनाउनु पर्ने कुरामा जोड दिए ।
निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले पोखराको खेलकुद विकासमा मञ्चले खेलेको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्यावसन कास्कीले चैत्र १२ गते हुने दौड कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फबाट प्रतिवद्धता जनाए । उनले प्यावसन अन्तर्गतका धेरै भन्दा धेरै विद्यालयका छात्र–छात्राहरुलाई सहभागिता गराउन आफूले सक्दो पहल गर्ने समेत बताए ।
निजी विद्यालयहरुको छाता संस्था एन प्यावसन कास्कीका सचिव मानकाजी गुरुङ र यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले दौड कार्यक्रमलाई सफल बनाउन विगतमा झैं आफूहरुले सहयोग गर्ने बताए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, द्वितिय उपाध्यक्ष खेम गुरुङ, महासचिव कृष्ण तिमिल्सिनाले प्रतियोगितालाई भव्य बनाउने संगै यूवा खेलाडी उत्पादनका लागि दौड प्रतियोगिताले सहयोग गर्ने जनाउँदै विद्यार्थीहरुको सहभागिता बढाउन संस्थागत विद्यालयको भुमिका महत्वपूर्ण रहेको बताए ।
स्मरणिय के छ भने पोखरा म्याराथन अन्तर्गत चैत्र १२ गते महिला पुरुष खुला १० किलोमिटर दौड, ५ किलोमिटर छात्र–छात्रा दौड, ह्विल चियर महिला पुरुष र दृष्टिविहिन महिला पुरुष दौड हुने छ ।
