गण्डकीमा आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण सुरु हुँदै

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेशमा भलिबल खेलको संरचना विस्तार र प्रशिक्षक उत्पादनलाई लक्ष्य राख्दै गण्डकी प्रदेश भलिबल संघको आयोजनामा ‘आधारभूत भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ भोलिदेखि पोखरामा सुरु हुँदैछ ।

उक्त प्रशिक्षण कार्यक्रम पूर्व तथा वर्तमान खेलाडीहरू, विद्यालय, कलेज, स्थानीय तह, क्लब, संघसंस्था र विभिन्न निकायहरू बाट प्रशिक्षकको बढ्दो मागलाई ध्यानमा राखी आयोजना गरिएको संघले जनाएको हो। संघका अनुसार, २०७९ भदौ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा करीब ४७ जना प्रशिक्षार्थी गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुँदैछन् ।

प्रशिक्षणको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागमा कार्यरत भलिबलका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्टले गर्नेछन् । साथै अन्य अनुभवी प्रशिक्षकहरू तथा खेलकुद विज्ञहरूको पनि सहभागिता रहने संघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा द्वारा गरिने तयारी भएको छ । सो प्रशिक्षण कार्यक्रम पृथ्वीनारायण क्याम्पसमा सञ्चालन हुनेछ ।

नेपाल भलिबल संघ र प्रदेश खेलकुद परिषद् गण्डकीको स्वीकृति तथा अनुमतिमा सञ्चालन हुने सो प्रशिक्षणमा पृथ्वीनारायण क्याम्पस र स्ववियु पि.एन. क्याम्पस को विशेष सहयोग रहने संघले जनाएको छ ।

संघका कार्यसमिति सदस्य जापान गुरुङ का अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ र यसले गण्डकी प्रदेशमा भलिबल प्रशिक्षक उत्पादन र खेलकुदको गुणस्तरमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close