
पोखरा स्पोर्टस । नेपालमा सर्वाधिक लोकप्रिय स्पोर्टस वेयर व्राण्ड मध्येको ‘केल्मी’ले १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने भएको छ ।
नेपालकै जेठो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वृत्तमा सर्वाधिक चर्चामा रहने म्याराथन मध्येको एक पोखरा म्याराथन आगामी फागुन ५ गते शनिवार आयोजना हुँदैछ । केल्मीले लगातार तेश्रो पटक पोखरा म्याराथन संग सहकार्य गर्न लागेको हो । पोखरा म्याराथन आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली र केल्मीका लागि नेपालका अधिकृत विक्रेता कामरु ट्रेडिङ प्रा.ली.का प्रवन्ध निर्देशक उत्तम न्यौपानेले सहकार्य बारे सम्झौता गरेका छन् ।
नेपालका विभिन्न खेलकुद संस्था र खेलाडीहरुको लोकप्रिय व्राण्डको रुपमा रहेको केल्मीले विभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेको छ । केल्मी तेश्रो पटक निरन्तर रुपमा पोखरा म्याराथन संग जोडिए पछि अध्यक्ष पराजुलीले खुसी व्यक्त गरेका छन् । उनले भने–“हामीले केल्मीको तेश्रो पटक निरन्तर साथ पाएका छौं । यसका लागि प्रवन्ध निर्देशक उत्तम ज्यू र कामरु ट्रेडिङ परिवार प्रति धन्यबाद व्यक्त गर्दछु ।”
यसै गरी केल्मीका अधिकृत विक्रेता कामरु ट्रेडिङका प्रवन्ध निर्देशक न्यौपानेले निरन्तर रुपमा पोखरा म्याराथन संग जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने–“नेपाली अग्रज खेलाडीको आयोजनामा हुने नेपालकै जेठो म्याराथन संग जोडिन, पाउनु हामी सबैको लागि गौरवको कुरा हो”,-उनले थपे–“केल्मीले अग्रज खेलाडीहरुको सम्मान र पोखरा म्याराथनको लामो इतिहासलाई मध्यनजर गर्दै यो सहकार्य गर्दैछ ।” पूर्व खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चले गर्ने हरेक कार्यक्रममा केल्मीको सहकार्य रहने प्रतिवद्धता समेत उनले जनाए ।
‘स्वास्थ्यका लागि, पोखराका लागि’ भन्ने मुल उद्धेश्यका साथ आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विभिन्न सरकारी निकाय संगै अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सहयोग र सहकार्य हुँदै आएको छ । पोखरा म्याराथन जेठो म्याराथन मात्रै नभै नेपालमा सर्वाधिक पुरस्कार राशीको म्याराथन समेत हो ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजक संस्था मञ्चले यो वर्ष खेलाडीहरुको अन्तिम दर्ता २०८० माघ २५ गते सम्म गर्ने जनाएको छ । खेलाडीहरुले www.pokharamarathon.org मा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
