
पोखरा, २६ असार । गण्डकी प्रदेशस्तरिय ११ औं राष्ट्रपति कप भलिबल तर्फको फाइनलमा छात्रा तर्फ कास्की र म्याग्दी भिड्ने भएका छन ।
आज देखि शुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फको फाइनलमा स्याङजाले म्याग्दीको सामना गर्ने भएको पश्चिमाञ्चल क्षेत्रिय उप निर्देशक कृष्ण तिमिल्सिनाले जनाएका छन ।
दुबै छात्र फाइनल र तेश्रो स्थानका लागि खेलहरु शुक्रबार हुने उपनिर्देशक तिमिल्सिनाले जानकारी दिए ।

त्यसै गरि आज सम्पन्न एथलेटिक्स १०० मिटर दौड छात्र/छात्रा तर्फ कास्कीले स्वर्ण पदक हात पारेको छ । कास्कीका सुदिप जोशी र अनिषा भण्डारीले स्वर्ण पदक हात पारेका हुन ।
एथलेटिक्स तर्फ १५०० मिटर दौडमा छात्र तर्फ नवलपुरका मनिष गुरुङ र छात्रा तर्फ स्याङजाकी जानकी रावलले स्वर्ण पदक हात पारे । कास्कीका बिबेक अधिकारीले ४०० मिटर दौडमा स्वर्ण हात पार्दा सोही दौडमा छात्रा तर्फ नवलपुरकी कल्पना श्रेष्ठले स्वर्ण पदक हात पारिन ।
४x१०० रिलेमा कास्कीले छात्र/छात्रा दुबै तर्फ स्वर्ण पदक हात पारेको छ भने ४x४०० रिले समेत छात्र÷छात्रा दुबैमा कास्कीले नै बाजी मारेको छ । शटपुट तर्फ छात्र तर्फ लमजुङका अंकित कुमालले स्वर्ण पदक हात पार्दा तनहुँकी ज्योती श्रेष्ठले छात्रा तर्फ स्वर्ण जितिन ।

यता उशु छाङ छ्वान छात्र तर्फ बागलुङका शौरभ किसान र छात्रा तर्फ कास्कीका प्रेरणा शेपुर्जाले स्वर्ण पदक हात पारे । नान छ्वान तर्फ बागलुङकी काजल बिकले स्वर्ण जितेकी छन ।
यसै गरि सम्पन्न करातेमा छात्र तर्फ ४२ केजिमा लक्ष्मण पुन (बागलुङ), ४७ केजीमा बिमल थापा (तनहुँ), ५२ केजी तौलमा बलराम अधिकारी (कास्की) ले स्वर्ण पदक हात पारेका छन । छात्रा तर्फ ४० केजीमा भूमिका बस्नेत (गोरखा), ४५ केजीमा सुदिना बुढामगर (म्याग्दी) र ५० केजीमा अनिता घले (कास्की)ले स्वर्ण पदक हात पारेका छन ।
कराते तर्फ नै छात्र काता तर्फ बबिन राई (गोरखा) र महिला तर्फ मसिना राई (कास्की)ले स्वर्ण पदक जिते ।
पोखरामा जारि ११ औं राष्ट्रपति कपको भोली भब्य कार्यक्रमका विच समापन गरिने कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले जानकारी दिएका छन । भोलीनै आठौंमा पदक जित्ने खेलाडी पनि नगद सहित सम्मान गरिने छ भने नवौं राष्ट्रियको झण्डा झण्डोत्तोलन गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्बीसुव्वा गुरुङले गर्नेछन ।
