
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न प्रथम मोहन मेमोरियल अन्तर विद्यालय राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ग्यालेक्सी पव्लिक स्कुल उत्कृष्ट हुँदै उपाधि उचालेको छ ।


तिन दिन सम्म जारी प्रतियोगितामा ग्यालेक्सीले एक स्वर्ण, एक रजत र एक कास्य पदकका साथ उत्कृष्ट हुँदै ‘मोहन मेमोरियल रनिङ ट्रफी’ उचाल्न सफल भएको हो । प्रतियोगिता अन्तर्गत नै व्बाइजतर्फ रुपन्देहीका सुदेश राजकोटी र कास्कीकी दिलाशा रानाले सवैको मन जित्दै उत्कृष्ट खेलाडी घोषित भएका छन् अनुशासित खेलाडीको पुरस्कार अनिल मल्लले हात पारे । प्रतियोगितामा सिक्सटिन फियदर्शले उत्कृष्ट पोशाकको उपाधि हात पार्दा पोखराको टप्स माविले धेरै खेलाडी सहभागिता जनाएको पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा कास्कीकी पुनम गुरुङ र अरुण दत्तलाई उनीहरुले व्याडमिन्टन खेलको विकासमा गरेको योगदानका लागि विशेष सम्मान गरिएको थियो । पुनम व्याडमिन्टनकी राष्ट्रिय खेलाडी संगै प्रशिक्षक हुन् भने अरुण उशुका प्रशिक्षक समेत हुन् ।
शनिबार राती अवेर गरी सम्पन्न भएको फाइनल प्रतियोगितामा यू–१७ छात्र ओपन सिंगल्सतर्फ त्रिभुवन आर्मीका डेभिड थापा मगरले सुर्खेतका नरेन्द्र वमलाई २१–१०, २१–१८ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेका छन् । त्यसै गरी सोही इभेन्टमा लाफाका मनोज फौदारले कास्य पदक प्राप्त गरे ।
यू–१७ गर्ल्स ओपन सिंगल्सतर्फ सुर्खेतकी पुष्पा साहीले स्वर्ण पदक हात पारिन । उनले फाइनलमा काठमाण्डौकी एन्जल लिम्वुलाई २१–१३, २१–१० र २१–१४ ले पराजित गनै सफल भएकी थिइन भने कास्य पदक भोजपुरकी उपमा खड्का र कास्कीकी दिलाशा रानाले हात पारे ।
ओपन व्वाइज डवल्सतर्फ सुर्खेतका नरेन्द्र वम र कविर केसीको जोडीले फाइनलमा वाक ओभर पाउँदा प्रथम हुन सफल भए । फाइनलमा डेभिड थापा र मनोज फौदारको जोडी पहिलो सेटमा नै २१–१३ ले पछि रहेको अवस्थामा चोटका कारण वाक ओभर दिएको थियो भने संखुवासभाका सुनिल कार्की र अनिल मल्लको जोडी तृतिय भएको छ । सोही इभेन्टको छात्रातर्फ कास्कीको दिलाशा राना र आयुष्मा रानाको जोडीले वाजी मारेको छ । उनीहरुले फाइनलमा भोजपुरको जोडी उपमा खड्का र अंशु श्रेष्ठको जोडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पाखा लगायो । तृतिय स्थानमा सिक्सटिन फियदर्शको जोडी रिहाना श्रेष्ठ र अल्फा महर्जन तथा सुर्खेतको पुष्पा शाही र निर्भिता शाहीले प्राप्त गर्न सफल भए ।
सेकेण्डरी लेभलतर्फको प्रतियोगितामा व्वाइज सिंगल्सतर्फ कविर केसी सुर्खेत, रोधन राई सुनाखरी एकेडेमी क्रमश क्रमश प्रथम र द्वितिय हुँदा सुविन श्रेष्ठ दाङ र भेनिष राई भोजपुरले तेश्रो स्थान प्राप्त गरे भने छात्रातर्फ काठमाण्डौकी एन्जल लिम्वु प्रथम, ग्यालेक्सीकी रिहाना शेरचन द्वितिय र दिलाशा राना तथा आयुष्मा नेपालले तृतिय स्थान प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत नै सम्पन्न लोअर सेकेण्डरी लेभलको व्बाइज सिंगल्सतर्फ रुपन्देहीका सुदेश राजमती पहिलो भए । प्रतियोगितामा तनहुँका सफल भुजेल दोश्रो हुँदा एपेक्सका सुभम कार्की र आरुष सिम्खडाले तेश्रो स्थान हात पारे । यता गर्ल्सतर्फ ग्यालेक्सीकी रिहाना शेरचन प्रथम, ललितपुरकी तिशा रानी शाक्य द्वितिय भइन भने लालिगुराँस माविकी अश्मिता खत्री र त्रिभुवन आर्मीकी समृद्धि श्रेष्ठ तृतिय भएका छन् ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाकी उप सभामुख सिर्जना शर्मा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले नगद, मेडल, प्रमाणपत्र तथा विभिन्न उपहारहरु वितरण गरेका थिए । समापन कार्यक्रम मोहन मेमोरियलका संस्थापक तथा राष्ट्रिय व्याडमिन्टन खेलाडी भुगोल गुरुङको अध्यक्षतामा भएको थियो ।
तिन दिन सम्म जारी रहेको प्रतियोगिता कोभिड १९ पछि कै कास्कीमा सम्पन्न वृहत व्याडमिन्टन प्रतियोगिता रहेको संस्थापक गुरुङले बताए । करिव ९ लाख खर्च भएको उक्त प्रतियोगिता राष्ट्रिय खेलाडी मोहन नेपालीको स्मृतीमा गठित ‘मोहन मेमोरियल’ले आयोजना गरेको थियो । प्रतियोगितामा देश भरिका करिव २ सय भन्दा वढी खेलाडीले सहभागिता जनाएका थिए । मोहनको सन २०१२ मा दुर्घटनामा निधन भएको थियो । उनी संगै खेलेका साथीहरु मिलेर उनको सम्झनालाई जिवन्त बनाइ राख्न प्रतियोगिताको सुरुआत गरेका हुन् ।
