प्रथम ए.बि.सी भेट्रान्स एट–ए–साईड : सेमिफाईनल समीकरण पुरा

पोखरा स्पोर्टस । अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट–ए– साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ ।

शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो क्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा सानो गौचरनका लागि राजन उप्रेतीले दुई तथा नरेश श्रेष्ठले एक गोल गरे । राजनले खेलको ८ र १९ औं मिनेटमा गोल गरेका थिए । सुरेन्द्र गुरुङले खेलको १६ औं मिनेटमा गोल गरे । जुन गोल चितवनका लागि सान्त्वना बन्यो । खेलमा राजन उप्रेती म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो क्वाटरफाईनल खेलमा फ्रिडम फाईटरले एक्स वारियरलाई ३–१ गोल अन्तरले पराजित गर्यो । फ्रिडम फाईटरका लागि सुवास गुरुङले खेलको ६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको आठौं मिनेटमा विजय गुरुङले गोल थप्दै अग्रता दोब्बर बनाउँदा सरोज थापाले अर्को गोल थप्दै जित सुनिश्चित बनाएका थिए । खेलको १७ औं मिनेटमा भरत थापाले एक्स वारियरका लागि गोल फर्काए । विजय गुरुङ म्यान अफ दि म्याच भए ।

अन्तिम क्वाटर फाईनल खेलमा बुटवल भेट्रान्सले धनगढी भेट्रान्सलाई ३–० गोलले पराजित गरेको थियो । राजु खड्का, लवप्रसाद गुरुङ र तीर्थबहादुर याक्सोले गोल गरेका थिए । राजु खेलमा म्यान अफ दि म्याच घोषित भए । पहिलो सेमिफाईनल हेटौडा भेट्रान्स र सानो गौचरन बीच हुने छ । दोस्रो सेमिफाईनल बुटवलले फ्रिडम फाईटरसँग खेल्ने छ ।

विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउँदा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राईकर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं अमरसिंह ब्वाईज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close