
काठमाडौं, २७ कात्तिक ।
नारायनलाल मोक्तानले पाँचौँ आइकेओ माचुसिमा क्योकुशिन कराते विश्वकपमा नेपालको तर्फ बाट चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी १७ देखि १८ नोभेम्बरमा चीनको संघाई शहरमा हुने विश्वकपमा नारायनलालले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए । विश्वकपमा नारायनलालको प्रशिक्षणको जिम्मेवारी सुमन गजुरेलले सम्हाल्ने भएका छन् ।
उक्त विश्वकपमा कुल ४० राष्ट्रले प्रतिस्पर्धा गर्ने ब्रान्च चिफ राजकुमारले जानकारी दिए । सोही विश्वकपमा नेपालका सुनील आचार्य र सन्तोस बुढाथोकीले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । विश्वकपमा सहभागी हुन नेपाली टोली बुधबार चीन तर्फ प्रस्थान गर्दैछन् । लामो समयदेखि तयारी गरेकाले विश्वकपमा देशका लागि पदकको आशा गरिएको माचुसिमा क्योकुशिन करातेका नेपाल प्रमुख राजकुमारले विश्वास व्यक्त गरे ।